काठमाडौं । रसुवागढी नाका बाढीका कारण अवरुद्ध भएपछि वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग भइरहेको मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिएका सामान अब काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमै जाँचपास गर्न सकिने भएको छ।
भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयबाट पैठारीका लागि आएका मालवस्तुलाई आन्तरिक परिवहन सुविधाअन्तर्गत सिधै चोभारसम्म ल्याएर जाँचपास गर्न सकिने व्यवस्था गरेको हो।
नयाँ व्यवस्थासँगै कोरला नाका हुँदै आएका सामान मुस्ताङमै जाँचपास गर्नुपर्ने बाध्यता हटेको छ। तोकिएका सर्त र प्रक्रिया पूरा गरेमा अर्को निर्णय नभएसम्म यो सुविधा लागू हुने विभागले जनाएको छ।
विभागले कोरला नाकाबाट चोभारसम्म मालबाहक सवारी सञ्चालनका लागि निश्चित रुटसमेत तोकेको छ। कोरला नाकाबाट प्रवेश गरेका सवारी नेचुङ, छुसाङ, कागबेनी, जोमसोम, बेनी, कुश्मा, पोखरा, दमौली, मुग्लिङ, कुरिनटार, नौबिसे, कलंकी हुँदै चोभार पुग्नेछन्।
उक्त रुटमा समस्या आएमा मुग्लिङ, नारायणगढ, हेटौंडा, भैँसे, नौबिसे, कलंकी हुँदै चोभार पुग्ने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, गुडाएर ल्याइने नयाँ सवारीसाधनका लागि तत्काल हेटौंडातर्फको रुट प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
रसुवागढी नाकामा बाढीले ठूलो क्षति पुर्याएपछि नेपाल–चीन व्यापारका लागि कोरला नाकाको प्रयोग बढेको छ। यस्तो अवस्थामा चोभारमै भन्सार जाँचपासको सुविधा उपलब्ध भएपछि आयातकर्ताको प्रक्रियागत झन्झट घट्ने र सामान ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाले चीनबाट कोरला नाका हुँदै आउने मालसामान काठमाडौंसम्म ल्याएर एकै स्थानमा भन्सार प्रक्रिया पूरा गर्न सहज हुने भएको छ।
