काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा ठूलो जनधनको क्षति भयो। स्याफ्रुबेँसी, बेत्रावती र त्रिशुलीजस्ता बजारसमेत बाढीको चपेटामा परेपछि निजी क्षेत्रले पनि प्रभावितको उद्धार तथा राहतमा सहयोग बढाएको छ।
एनआईसी एशिया बैंकले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ। त्यसमध्ये २ करोड रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत र २१ लाख रुपैयाँ सञ्चालक तथा कर्मचारीले व्यक्तिगत रूपमा योगदान गरेका हुन्।
बैंकले बाढी आएको तेस्रो दिन नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत थप ४० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत उपलब्ध गराएको थियो।
राहत सहयोगसँगै बैंकले सामाजिक सञ्जालमा पनि आफ्नो सञ्चार शैली परिवर्तन गरेको छ। फेसबुक, एक्स र इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा प्रकाशित गर्ने पोस्टलाई बैंकले रंगीनबाट हटाएर ब्ल्याक एन्ड ह्वाइट अर्थात् श्यामश्वेत बनाएको छ।
बैंकका अनुसार यो ब्रान्डको स्थायी स्वरूप परिवर्तन होइन। विपद्का कारण ठूलो मानवीय क्षति भएको संवेदनशील अवस्थामा प्रभावित व्यक्ति तथा परिवारप्रति समवेदना र ऐक्यबद्धता जनाउन अस्थायी रूपमा यस्तो शैली अपनाइएको हो।
सामान्य अवस्थामा प्रयोग हुने रंगीन तथा प्रवद्र्धनात्मक सामग्रीलाई केही समय संयमित बनाउँदै परिस्थितिको गम्भीरता झल्काउने उद्देश्यले श्यामश्वेत दृश्य प्रयोग गरिएको बैंकले जनाएको छ।
श्यामश्वेत दृश्यलाई दुःख, समवेदना र गम्भीरताको संकेतका रूपमा लिइन्छ। त्यसैले प्रत्यक्ष राहत तथा आर्थिक सहयोगसँगै विपद्को समयमा संस्थागत सञ्चारमार्फत प्रभावितप्रति संवेदना व्यक्त गर्ने प्रयासका रूपमा बैंकको यो शैली देखिएको छ।
बैंकले वर्तमान परिस्थितिलाई ध्यानमा राखेर अपनाइएको यो अस्थायी सञ्चार शैली भएको जनाएको छ।
