Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

वर्षा र पहिरोले दर्जनौं सडकखण्ड प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

वर्षा र पहिरोले दर्जनौं सडकखण्ड प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध
A A+ A-

काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

रसुवा, धादिङ, मुगु, रोल्पा, बझाङ र म्याग्दीका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। केही स्थानमा भने वैकल्पिक मार्गबाट यातायात सञ्चालनको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा भदौ १६ गतेदेखि राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्म तौल भएका मालवाहक तथा ढुवानीका साधन सञ्चालन गर्न दिइएको छ। निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

मकवानपुरका विभिन्न राजमार्गमा पनि सवारीसाधन सञ्चालनका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने प्रहरीले जनाएको छ।

१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधनले हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्न सक्नेछन्।

मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारीसाधनलाई पुल प्रयोग नगरी छेउको डाइभर्सनबाट सञ्चालन गर्न भनिएको छ।

विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। सवारी चालकलाई आफ्नो पालोमा धैर्य र अनुशासनपूर्वक सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न भनिएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि रातिको आवतजावतमा रोक लगाइएको छ। भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने प्रहरीले जनाएको छ।

रसुवामा राजमार्ग पूर्ण रूपमा अवरुद्ध

रसुवाको पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भदौ ८ गते उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि बाटो अवरुद्ध भएको थियो। त्यसपछि भदौ १० गते आएको बाढीले सडकको अधिकांश भाग नष्ट गरेको प्रहरीले जनाएको छ।

त्रिशूली र बेत्रावती बजार हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएपछि रसुवा र नुवाकोट जोड्ने राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे–स्याफ्रुबेँसी हुँदै जाने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

धादिङको पृथ्वी राजमार्ग पनि प्रभावित

धादिङको पृथ्वी राजमार्गसमेत वर्षा र नदी कटानका कारण प्रभावित भएको छ। भदौ १४ गते बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित सडकखण्डमा त्रिशूली नदीले कटान गर्दा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

सोही दिन गजुरी गाउँपालिका–२ परेवा भीरस्थित पृथ्वी राजमार्गको तल्लो भागसमेत बाढीका कारण भासिएको थियो। उक्त स्थानमा भने एक लेनको बाटो सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

मुगु र रोल्पामा पहिरोले सडक बन्द

मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चास्थित नाग्मा–मुगु गमगढी सडकखण्डमा भदौ १६ गते साँझ अविरल वर्षाका कारण ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रोल्पाको परिवर्तन गाउँपालिका–३ भालखोरस्थित सहिद राजमार्गमा भदौ १७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। यस्तै, परिवर्तन गाउँपालिका–६ दुईखोली बजारस्थित घोराही–थवाङ सहिद मार्गमा भदौ १८ गते सडकको तल्लो भागमा पहिरो गएपछि यातायात अवरुद्ध भएको छ।

बझाङ र म्याग्दीमा पनि सडक अवरुद्ध

बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत बित्थडचिर गाउँपालिका–१ पहिरामा भदौ २० गते बिहान ५:५० बजे सडकको माथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण बन्द भएको छ। भदौ २० गते बिहान करिब ५:३० बजे अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित सडकमा ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

वर्षा निरन्तर भइरहेकाले पहिरो तथा बाढीको जोखिम कायमै रहेको भन्दै प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त सडकखण्डमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

2