udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

रिचर्ड ब्रान्सनः किशोर उद्यमीदेखि सीमापार शक्तिसम्म

१५ वर्षको उमेरमा सुरु भएको प्रयासले संगीत, विमान, होटल र अन्तरिक्षसम्म आफ्नो नाम पुर्‍याउँदा जन्मिएको विश्वव्यापी व्यावसायिक साम्राज्य

रिचर्ड ब्रान्सनः किशोर उद्यमीदेखि सीमापार शक्तिसम्म
A A+ A-

ठूला व्यावसायिक साम्राज्यहरू प्रायः ठूलो पूँजी, बलियो पारिवारिक विरासत र स्थापित बजारबाट सुरु हुन्छन्।

तर रिचर्ड ब्रान्सनको कथा त्यसको ठीक उल्टो छ।

उनको सुरुवात न ठूलो उद्योगबाट भयो, न ठूलो लगानीबाट। किशोर अवस्थामा एउटा पत्रिका निकाल्ने चाहनाबाट सुरु भएको प्रयास विस्तारै संगीत व्यवसायमा पुग्यो, संगीतबाट खुद्रा व्यापारमा, त्यहाँबाट विमान सेवामा, विमान सेवाबाट होटल र आतिथ्यमा, दूरसञ्चार, वित्तीय सेवा, स्वास्थ्य, समुद्री यात्रासम्म फैलियो र अन्ततः अन्तरिक्षसम्म पुग्यो।

आज ‘भर्जिन’ नाम विमानको शरीरमा मात्र देखिँदैन। यो होटलको ढोकामा, रेलमा, दूरसञ्चार सेवामा, वित्तीय संस्थामा, स्वास्थ्यसम्बन्धी सेवामा, समुद्री यात्राका जहाजमा र अन्तरिक्षयानमा समेत देखिन्छ।

भर्जिन समूहका अनुसार ३५ भन्दा बढी देशमा ४० भन्दा बढी कम्पनी यस ब्रान्डसँग जोडिएका छन् र ६० हजारभन्दा बढी मानिस यसका विभिन्न व्यवसायमा आबद्ध छन्।

तर यो साम्राज्य एकैपटक बनेको होइन। यसको पछाडि दशकौँको प्रयोग, जोखिम, असफलता, साझेदारी, ब्रान्ड निर्माण र फेरि नयाँ क्षेत्रमा प्रवेश गर्ने साहस छ।

ब्रान्सनको यात्राको सबैभन्दा रोचक पक्ष यही हो। उनले एउटा सफल व्यवसाय बनाएर त्यसैमा बसिरहन चाहेनन्।

एउटा क्षेत्रमा अवसर देखेपछि अर्को क्षेत्रमा पुगे। स्थापित उद्योगमा प्रवेश गर्दा त्यहाँ पहिलेदेखि रहेका ठूला खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने जोखिम लिए। कहिलेकाहीँ सफल भए, कहिलेकाहीँ व्यवसाय बेच्नुपर्‍यो, कतिपय प्रयोग असफल भए। तर हरेक अनुभवले उनलाई अर्को व्यवसायका लागि तयार पार्‍यो।

यही निरन्तर प्रयोगले एउटा किशोरको जिज्ञासालाई विश्वव्यापी व्यावसायिक ब्रान्डमा बदल्यो।

एउटा किशोरको जिद्द

रिचर्ड ब्रान्सनको व्यावसायिक कथा उनको विद्यालय जीवनमै सुरु हुन्छ। सन् १९६७ मा, उनी केवल १५ वर्षका हुँदा उनले ‘स्टुडेन्ट’ नामको पत्रिका सुरु गरे। त्यसबेला यो सामान्य विद्यालय पत्रिका बनाउने प्रयास थिएन।

युवाको आवाजलाई स्थान दिने, स्थापित सोचमाथि प्रश्न उठाउने र समाजका समसामयिक विषयमाथि युवालाई बोल्ने ठाउँ दिने उद्देश्यले पत्रिका अघि बढाइएको थियो।

ब्रान्सनले पछि आफैंले लेखेका संस्मरणहरूमा विद्यालयमा आफूले अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गरेका छन्। १६ वर्षको उमेरमा उनले विद्यालय छाडेर पत्रिकालाई व्यवसायिक रूपमा अघि बढाउने निर्णय गरे।

पत्रिकाले संगीत, लोकप्रिय संस्कृति, शिक्षा, युद्ध र सामाजिक विषयमा सामग्री प्रकाशित गथ्र्यो। भियतनाम र बियाफ्रा युद्धजस्ता अन्तर्राष्ट्रिय विषयसमेत त्यसका सामग्रीमा समेटिएका थिए।

यो चरण ब्रान्सनका लागि केवल पत्रकारिता वा पत्रिका प्रकाशनको सुरुवात थिएन। यही क्रममा उनले एउटा महत्वपूर्ण कुरा सिके। आफूले सबै काम आफैं गर्न सकिँदैन।

पत्रिकामा लेख्ने मानिस चाहिन्थे। सामग्री जुटाउने मानिस चाहिन्थे। विज्ञापन ल्याउने मानिस चाहिन्थे। पैसा व्यवस्थापन गर्ने मानिस चाहिन्थे। वितरण गर्ने मानिस चाहिन्थे। किशोर अवस्थामै उनले मानिसलाई जिम्मेवारी दिनुपर्ने र आफूले ठूलो चित्रमा ध्यान दिनुपर्ने कुरा सिके।

पछि उनले आफ्नो व्यवसायिक नेतृत्वको एउटा महत्वपूर्ण विशेषता यही अनुभवबाट आएको बताउँदै आएका छन्। उनका अनुसार ‘स्टुडेन्ट’ सुरु गर्दा उनले कक्षाकोठाबाट सिक्न नसकेका धेरै कुरा वास्तविक व्यवसायबाट सिके। विशेषगरी जिम्मेवारी बाँडफाँट, कल्पनाशक्ति, प्रयोग र असफलताबाट सिक्ने क्षमता।

यही पत्रिकाको पछाडिबाट उनको अर्को ठूलो व्यवसाय जन्मिन थाल्यो।

पत्रिकाको पछाडिबाट संगीत बजारतर्फ

सन् १९७० मा ब्रान्सन र उनका साथी निक पावेलले पत्रिकामार्फत छुट मूल्यमा रेकर्ड बेच्ने व्यवसाय सुरु गरे। त्यसको नाम राखियो ‘भर्जिन मेल अर्डर’।

त्यतिबेला ब्रान्सनलाई संगीत उद्योगको गहिरो अनुभव थिएन। तर उनले ग्राहकले सस्तो मूल्यमा रेकर्ड किन्न खोजिरहेको बजारको अवसर देखे। पत्रिकामा विज्ञापन राखेर रेकर्ड बिक्री सुरु गरियो। व्यवसाय बढ्दै गयो।

तर एउटा समस्याले उनीहरूको व्यवसायलाई लगभग बन्द हुने अवस्थामा पुर्‍यायो। हुलाक सेवामा आएको हडतालले रेकर्ड पठाउने काम प्रभावित भयो। हुलाकमार्फत बिक्रीमा निर्भर व्यवसाय अचानक संकटमा पर्‍यो। ब्रान्सन र उनको टोलीले त्यसपछि अर्को बाटो खोजे।

लन्डनको अक्सफोर्ड स्ट्रिटमा जुत्ता पसलमाथि रहेको सस्तो खाली ठाउँमा उनीहरूले आफ्नै रेकर्ड पसल खोले। यही पसलबाट ‘भर्जिन रेकर्ड्स’को वास्तविक विस्तार सुरु भयो।

पसललाई उनीहरूले केवल रेकर्ड बेच्ने ठाउँ बनाएनन्। ग्राहकले बसेर संगीत सुन्न सक्ने, साथीहरूसँग समय बिताउन सक्ने र संगीतको अनुभव लिन सक्ने वातावरण तयार गरे। यही फरकपनले भर्जिनलाई स्थापित रेकर्ड पसलहरूभन्दा अलग पहिचान दिन थाल्यो।

तर ब्रान्सन त्यसमै रोकिएनन्। सन् १९७२ मा उनले अक्सफोर्डसायरमा एउटा पुरानो घर खरिद गरे। त्यसलाई सामान्य घरका रूपमा प्रयोग गर्नुको सट्टा रेकर्डिङ स्टुडियोमा रूपान्तरण गरियो। त्यसको नाम राखियो ‘द म्यानर’।

यही ठाउँमा माइकल ओल्डफिल्डको ‘ट्युबुलर बेल्स’ तयार भयो। ठूला रेकर्ड कम्पनीहरूले अस्वीकार गरेको उनको संगीतलाई भर्जिनले अवसर दियो। पछि ‘ट्युबुलर बेल्स’ ठूलो व्यावसायिक सफलता बन्यो र भर्जिन रेकर्ड्सलाई संगीत उद्योगमा गम्भीर खेलाडीका रूपमा स्थापित गर्‍यो।

यसपछि भर्जिनले नयाँ कलाकार र नयाँ संगीतमा जोखिम लिन थाल्यो। सन् १९७३ मा ‘भर्जिन रेकर्ड्स’ र ‘भर्जिन म्युजिक पब्लिसिङ’ औपचारिक रूपमा अघि बढे। केही वर्षमै सेक्स पिस्टल्स, रोलिङ स्टोन्स र स्पाइस गर्ल्सजस्ता चर्चित नामहरू पनि भर्जिनसँग जोडिए।

यसरी एउटा विद्यार्थी पत्रिकाको पछाडिबाट सुरु भएको रेकर्ड बिक्री व्यवसाय एउटा ठूलो संगीत कम्पनीमा बदलियो।

सफलताको बीचमा पनि जोखिम

ब्रान्सनको व्यवसायिक शैली बुझ्न उनको संगीत व्यवसायको अर्को पक्ष हेर्नुपर्छ। उनी स्थापित बजारको सुरक्षित भागमा बस्नुभन्दा विवादास्पद वा जोखिमपूर्ण परियोजनामा समेत हात हाल्थे।

सन् १९७७ मा ‘भर्जिन रेकर्ड्स’ले सेक्स पिस्टल्सको ‘गड सेभ द क्विन’ सार्वजनिक गर्‍यो। बेलायतमा राजतन्त्रको रजत जयन्तीको समयमा सार्वजनिक भएको गीत विवादमा परेको थियो। ठूला रेकर्ड कम्पनीहरू यस्तो जोखिम लिन हिच्किचाइरहेका बेला भर्जिनले त्यो अवसर समात्यो।

ब्रान्सनका लागि संगीत केवल गीत बेच्ने व्यवसाय थिएन। नयाँ कलाकारलाई अवसर दिने, स्थापित मान्यतालाई चुनौती दिने र बजारमा फरक अनुभव सिर्जना गर्ने माध्यम पनि थियो।

त्यही सोच पछि उनको अन्य व्यवसायमा पनि देखियो। सन् १९९२ मा भर्जिन रेकर्ड्सलाई थर्न ईएमआईलाई करिब एक अर्ब अमेरिकी डलरमा बिक्री गरियो। यो निर्णयले ब्रान्सनलाई ठूलो रकम उपलब्ध गरायो, तर आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण व्यवसायमध्ये एक बेच्नुपर्दा उनी भावुक भएको विवरण पनि सार्वजनिक भएको छ।

तर व्यवसाय बेच्नु उनका लागि अन्त्य थिएन। बरु त्यही पूँजी र अनुभव अर्को ठूलो प्रयोगमा जाने आधार बन्यो।

संगीतबाट आकाशतर्फ

सन् १९८४ मा ब्रान्सनले यस्तो क्षेत्रमा प्रवेश गरे जहाँ उनलाई बाहिरबाट हेर्दा कुनै अनुभव नभएको जस्तो देखिन्थ्यो। विमान सेवा।

संगीत बेच्ने कम्पनी चलाइरहेको मानिसले विमान कम्पनी किन खोल्न खोज्यो?

ब्रान्सनको तर्क ग्राहक अनुभवसँग जोडिएको थियो। उनले विमान सेवामा यात्रुलाई अझ राम्रो अनुभव दिन सकिने ठाउँ देखे। त्यसबेला स्थापित ठूला विमान कम्पनीहरूको बजारमा नयाँ कम्पनी ल्याउनु निकै जोखिमपूर्ण निर्णय थियो।

‘भर्जिन एटलान्टिक’को पहिलो उडान सन् १९८४ जुन २२ मा लन्डन ग्याटविकबाट न्युयोर्कको नेवार्कतर्फ भएको थियो। कम्पनीका ऐतिहासिक सामग्रीअनुसार पहिलो उडान दोस्रो हातको बोइङ ७४७ बाट गरिएको थियो र टिकटको मूल्य ९९ पाउन्डबाट सुरु गरिएको थियो।

यो एउटा विमान र एउटा उडानबाट सुरु भएको प्रतिस्पर्धा थियो। तर ब्रान्सनको लक्ष्य केवल अर्को विमान कम्पनी थप्नु थिएन। यात्रुलाई विमानभित्रको अनुभव फरक बनाउने प्रयास थियो।

पछि विमानभित्रको मनोरञ्जन, उच्चस्तरीय यात्रु सेवा, सञ्चार सुविधा र यात्रुको अनुभवमा केन्द्रित विभिन्न प्रयोगहरू भर्जिन एटलान्टिकको पहिचान बने। यसरी ब्रान्सनले एउटा कुरा प्रमाणित गर्न खोजे। कुनै उद्योग पुरानो हुँदैमा त्यसमा नयाँ अनुभव सिर्जना गर्ने ठाउँ समाप्त हुँदैन।

संगीतबाट विमान सेवामा गएको यो छलाङ नै उनको व्यावसायिक यात्राको सबैभन्दा महत्वपूर्ण मोडमध्ये एक थियो।

एउटा नाम धेरै क्षेत्रमा

विमान सेवामा प्रवेश गरेपछि ‘भर्जिन’ नाम एउटा संगीत कम्पनीको ब्रान्ड रहेन। यो क्रमशः बहुक्षेत्रीय व्यावसायिक पहिचान बन्न थाल्यो।

सन् १९८५ मा ‘भर्जिन होलिडेज’ सुरु भयो। विमानबाट यात्रु गन्तव्यसम्म पुर्‍याउने व्यवसायलाई यात्राको सम्पूर्ण अनुभवसँग जोड्ने प्रयास थियो।

त्यसै दशकमा ‘भर्जिन गेम्स’, ‘भर्जिन पब्लिसिङ’, ‘भर्जिन रेडियो’जस्ता व्यवसाय थपिए। सन् १९९० को दशकमा ‘भर्जिन कोला’, ‘भर्जिन ड्रिङ्क्स’, चलचित्र, इन्टरनेट, रेल र वित्तीय सेवासम्म ब्रान्ड फैलियो।

सन् १९९९ मा ‘भर्जिन मोबाइल’ सुरु भयो। यसले ब्रान्डलाई संगीत सुन्ने वा विमान चढ्ने ग्राहकबाट दैनिक सञ्चार सेवा प्रयोग गर्ने उपभोक्तासम्म पुर्‍यायो।

त्यसै वर्ष ‘भर्जिन एक्टिभ’मार्फत स्वास्थ्य तथा व्यायामको क्षेत्रमा पनि प्रवेश भयो। पछि यो ब्रान्ड विभिन्न देशमा विस्तार भयो।

यसको अर्थ ब्रान्सनले हरेक नयाँ व्यवसाय शून्यबाट बनाएका थिए भन्ने होइन। उनको एउटा महत्वपूर्ण रणनीति थियो। पहिले नै स्थापित साझेदार, लगानीकर्ता र व्यवस्थापन समूहसँग मिलेर आफ्नो ब्रान्डको शक्ति प्रयोग गर्नु।

भर्जिनकै व्याख्याअनुसार विभिन्न व्यवसायको स्वामित्व संरचना एउटै थिएन। तर साझा कुरा ‘भर्जिन’ ब्रान्ड थियो। यही कारण एउटा क्षेत्रमा बनेको ग्राहक विश्वास अर्को क्षेत्रमा विस्तार गर्न सजिलो भयो।

वित्तीय सेवा र दैनिक जीवनसम्म

व्यवसाय विस्तारको अर्को चरण वित्तीय सेवा थियो। ‘भर्जिन डाइरेक्ट’बाट सुरु भएको प्रयास पछि ‘भर्जिन मनी’सम्म पुग्यो। बचत, बैंकिङ र अन्य वित्तीय सेवामार्फत ब्रान्ड उपभोक्ताको दैनिक आर्थिक जीवनसँग जोडियो।

सन् २००० मा ‘भर्जिन मनी’, ‘भर्जिन कार्स’, ‘भर्जिन इनर्जी’, ‘भर्जिन स्टुडेन्ट’ र ‘भर्जिन वाइन्स’जस्ता विभिन्न व्यवसाय एकै समयमा अघि बढिरहेका थिए। अर्को वर्ष ‘भर्जिन मनी’लाई थप विस्तार गरियो।

यसले ब्रान्सनको व्यवसायिक दर्शनलाई अझ स्पष्ट बनायो। उनी कुनै एउटा उत्पादनमा ग्राहक बनाउनेभन्दा ग्राहकको जीवनका विभिन्न आवश्यकतामा एउटै ब्रान्ड पुर्‍याउने दिशामा अघि बढिरहेका थिए।

यात्रा गर्ने ग्राहक विमानमा भेटिन्थ्यो। त्यही ग्राहक होटलमा भेटिन्थ्यो। मोबाइल चलाउने ग्राहक दूरसञ्चार सेवामा भेटिन्थ्यो। बैंकिङ गर्ने ग्राहक वित्तीय सेवामा भेटिन्थ्यो। व्यायाम गर्ने ग्राहक स्वास्थ्य सेवामा भेटिन्थ्यो।

अर्थात् ‘भर्जिन’ विस्तारको आधार केवल नयाँ कम्पनी थप्नु थिएन। एउटै ब्रान्डलाई फरक फरक उपभोक्ता आवश्यकतासँग जोड्नु थियो।

होटल र विलासी आतिथ्य

ब्रान्सनको व्यक्तिगत जीवनशैलीसँग जोडिएको एउटा प्रमुख नाम हो ‘नेकर आइल्यान्ड’।

सन् १९७८ मा उनले क्यारिबियन क्षेत्रमा रहेको यो निजी टापु खरिद गरेका थिए। पछि यही टापु ‘भर्जिन लिमिटेड एडिसन’अन्तर्गत विलासी आतिथ्य व्यवसायको प्रमुख प्रतीक बन्यो।

तर उनको आतिथ्य व्यवसाय एउटा निजी टापुमा सीमित रहेन। दक्षिण अफ्रिकाको उलुसाबा, मोरक्कोको कस्बा तामाडोट, केन्याको महाली म्जुरी, दक्षिण अफ्रिकाको मोन्ट रोशेल र स्पेनको सोन बुन्योला जस्ता विभिन्न विलासी आवास परियोजना पनि ‘भर्जिन लिमिटेड एडिसन’को हिस्सा बने।

पछि ‘भर्जिन होटल्स’ पनि सुरु भयो। सन् २०१९ मा सान फ्रान्सिस्कोमा दोस्रो होटल खुलेको थियो र अमेरिकाका विभिन्न सहरमा विस्तारको योजना अघि बढाइएको थियो।

होटल व्यवसायमा पनि ब्रान्सनको पुरानै सोच दोहोरिन्छ। ग्राहकलाई केवल कोठा बेच्ने होइन, अनुभव बेच्ने।

स्वास्थ्य पनि व्यवसायको क्षेत्र

स्वास्थ्य क्षेत्रमा पनि ‘भर्जिन’ले विस्तार गर्‍यो। ‘भर्जिन एक्टिभ’मार्फत व्यायाम र स्वास्थ्य क्लब सञ्चालनमा आए। पछि विभिन्न देशमा यसको विस्तार भयो। त्यसपछि कर्मचारी स्वास्थ्य र जीवनशैलीसँग जोडिएका सेवामा पनि कम्पनी प्रवेश गर्‍यो।

सन् २००८ मा ‘भर्जिन हेल्थकेयर’ सुरु भयो भने स्वास्थ्यसम्बन्धी अन्य परियोजनाहरू पनि क्रमशः थपिए। दक्षिण अफ्रिकामा स्वास्थ्य केन्द्र निर्माणमा पनि भर्जिनको सामाजिक पहल जोडिएको थियो।

यसले ब्रान्सनको व्यवसायिक दायरा मनोरञ्जन र उपभोगबाट मानिसको स्वास्थ्य तथा जीवनस्तरसम्म पुगेको देखाउँछ।

समुद्रतर्फ अर्को छलाङ

हवाई यात्रामा स्थापित भएपछि ब्रान्सनले समुद्री यात्रामा पनि नयाँ अवसर देखे।

सन् २०१६ मा ‘भर्जिन भोयाजेज’को स्थापना भयो। यसको उद्देश्य परम्परागत समुद्री यात्राभन्दा फरक शैलीमा नयाँ पुस्तालाई लक्षित गर्दै यात्रा अनुभव निर्माण गर्नु थियो।

समुद्रमा आधारित यात्रा व्यवसाय पनि ब्रान्सनको पुरानै प्रयोगको निरन्तरता थियो। उनले जहाँ प्रवेश गरे, त्यहाँ स्थापित ढाँचालाई जस्ताको तस्तै दोहोर्‍याउनेभन्दा नयाँ ग्राहक अनुभव खोज्ने प्रयास गरे।

विमानमा उनले यात्राको अनुभव बदल्न खोजेका थिए। होटलमा बसाइको अनुभवमा ध्यान दिए। समुद्री यात्रामा पनि त्यही अवधारणा अघि सारियो।

यसरी ‘भर्जिन’ नाम अब जमिन, आकाश र समुद्र तीनै ठाउँमा देखिन थाल्यो।

दूरसञ्चारदेखि सञ्चारमाध्यमसम्म

दूरसञ्चार क्षेत्रमा प्रवेशले ब्रान्डलाई अझ ठूलो उपभोक्ता बजारमा पुर्‍यायो।

‘भर्जिन मोबाइल’ सन् १९९९ मा बेलायतमा सुरु भयो। पछि अष्ट्रेलिया, अमेरिका, क्यानडा, चीन, फ्रान्स, दक्षिण अफ्रिका, भारत, चिली, पोल्यान्ड, कोलम्बिया, मेक्सिको, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलगायतका बजारमा विस्तार भयो।

त्यसपछि ‘भर्जिन मोबाइल’, ‘भर्जिन डटकम’ र ‘एनटीएल टेलिवेस्ट’को संयोजनबाट सन् २००६ मा ‘भर्जिन मिडिया’ बन्यो।

यो विस्तारले ब्रान्ड निर्माणको अर्को महत्वपूर्ण पक्ष देखायो। ब्रान्सनले केवल कम्पनीको उत्पादन वा सेवा बेच्न खोजेनन्। उनले ग्राहकको दिमागमा एउटै नामप्रति फरक अनुभव जोड्ने प्रयास गरे।

संगीतमा विद्रोही। विमानमा फरक। मोबाइलमा सरल। होटलमा विलासी। समुद्री यात्रामा नयाँ पुस्तामुखी।

यी सबै फरक व्यवसाय भए पनि एउटै ब्रान्ड पहिचानले तिनलाई जोडिरहेको थियो।

अन्तरिक्षसम्म पुगेको सपना

तर ब्रान्सनको सबैभन्दा ठूलो र साहसी प्रयोग अझै बाँकी थियो।

अन्तरिक्ष।

सन् २००४ मा ‘भर्जिन ग्यालेक्टिक’ स्थापना भयो। उद्देश्य सामान्य मानिसलाई अन्तरिक्ष यात्राको अवसर दिने व्यावसायिक प्रणाली विकास गर्नु थियो। यो विचार आफैंमा असाधारण थियो, किनकि अन्तरिक्ष यात्रा लामो समयसम्म सरकार र केही विशेष संस्थाको नियन्त्रणमा रहेको क्षेत्र थियो।

ब्रान्सनले यहाँ पनि आफूले पहिले प्रयोग गरेको रणनीति दोहोर्‍याए। ठूलो र स्थापित उद्योगमा प्रवेश गरेर नयाँ ग्राहक अनुभव सिर्जना गर्ने।

तर अन्तरिक्ष व्यवसाय विमान वा होटलभन्दा धेरै जटिल थियो। प्राविधिक जोखिम ठूलो थियो। विकास प्रक्रिया लामो थियो। ठूलो पूँजी आवश्यक थियो। परीक्षण र असफलताको सम्भावना पनि उत्तिकै थियो।

सन् २०१८ मा ‘भीएसएस युनिटी’ले सफल परीक्षण उडानपछि व्यावसायिक सेवाका लागि मानिसलाई अन्तरिक्षतर्फ लैजान सक्ने क्षमताको महत्वपूर्ण चरण पार गर्‍यो।

अन्ततः सन् २०२१ मा ब्रान्सन आफैं ‘युनिटी २२’ उडानमा सहभागी भए। किशोर अवस्थामा पत्रिका सुरु गरेको व्यक्ति दशकौँपछि पृथ्वीको सीमाभन्दा माथि पुग्ने यात्रामा आफैं सहभागी भएको थियो।

यसले उनको व्यक्तिगत ब्रान्डलाई पनि नयाँ उचाइ दियो। अब उनी केवल व्यापारी थिएनन्। उनी साहस, जोखिम र असम्भव देखिने लक्ष्य पछ्याउने उद्यमीका रूपमा विश्वभर चिनिन थाले।

तर सबै प्रयोग सफल भएनन्

ब्रान्सनको कथा केवल सफलताको सूची होइन। उनले सुरु गरेका सबै व्यवसाय टिकेनन्। कतिपय बन्द भए। कतिपय बेचिए। कतिपय नयाँ कम्पनीमा विलय भए। कतिपय परियोजनाले अपेक्षित परिणाम दिएनन्।

यही पक्ष उनको यात्रालाई अझ महत्वपूर्ण बनाउँछ। सन् १९९२ मा एक अर्ब डलरमा ‘भर्जिन रेकर्ड्स’ बिक्री हुनु ठूलो व्यावसायिक सफलता थियो। तर त्यो बिक्रीले एउटा कुरा पनि देखायो। ब्रान्सन आफ्नो प्रिय व्यवसायलाई आवश्यक पर्दा बेच्न सक्थे। भावनात्मक रूपमा जोडिएको व्यवसाय पनि भविष्यको रणनीतिका लागि छोड्न सक्ने क्षमता उनीसँग थियो।

पछि अन्तरिक्षसँग सम्बन्धित ‘भर्जिन अर्बिट’ पनि कठिन अवस्थामा पुग्यो। कम्पनीले सन् २०२१ मा सार्वजनिक बजारमा प्रवेश गरे पनि २०२३ मा दिवालियापनको प्रक्रियामा गयो र यसको सम्पत्ति बिक्री गरियो।

यसले ब्रान्सनको यात्राको अर्को सत्य देखाउँछ। ठूलो ब्रान्ड हुनु भनेको हरेक निर्णय सफल हुनु होइन। बरु असफल परियोजनाबाट बाहिर निस्कन सक्नु पनि व्यवसायिक क्षमताको हिस्सा हो।

व्यवसायभन्दा परको उद्देश्य

ब्रान्सनको व्यवसायिक यात्रा केवल नाफा कमाउने प्रयासमा सीमित छैन। सन् २००४ मा ‘भर्जिन युनाइट’ नामको गैरनाफामूलक संस्था स्थापना गरियो। यसको उद्देश्य उद्यमशीलता, सामाजिक परिवर्तन र विभिन्न सामाजिक समस्यामा काम गर्ने मानिस तथा संस्थालाई जोड्नु थियो।

यसको जरा पनि ब्रान्सनको किशोरावस्थाको पत्रिकामै पुग्छ। ‘स्टुडेन्ट’मा युवालाई आवाज दिने प्रयासबाट सुरु भएको सामाजिक सोच पछि उनको व्यवसायिक दर्शनको हिस्सा बन्यो।

यही कारण उनले व्यवसायलाई समाज परिवर्तनको माध्यमका रूपमा पनि प्रस्तुत गर्दै आएका छन्। उनका अनुसार व्यवसाय केवल पैसा कमाउने संरचना होइन, सकारात्मक परिवर्तन ल्याउने माध्यम पनि हुन सक्छ।

यही सोचअन्तर्गत स्वास्थ्य, वातावरण, शिक्षा, उद्यमशीलता र सामाजिक समस्यासँग सम्बन्धित विभिन्न पहलमा भर्जिन समूह र ब्रान्सन परिवार जोडिँदै आएका छन्।

ब्रान्सनको असली शक्ति के हो?

ब्रान्सनको सम्पूर्ण यात्रालाई एउटै सूत्रमा बाँध्ने हो भने त्यो कुनै एउटा उत्पादन वा उद्योग होइन। त्यो हो, ब्रान्ड, मानिस र जोखिमबीचको सम्बन्ध।

उनले प्रत्येक व्यवसाय आफैं चलाउन खोजेनन्। राम्रो मानिस खोजे। साझेदार खोजे। व्यवस्थापन समूह बनाए। आफूले ठूलो चित्र हेर्ने र सही मानिसलाई काम गर्ने ठाउँ दिने शैली विकास गरे।

‘स्टुडेन्ट’बाट उनले जिम्मेवारी बाँड्न सिके। संगीतबाट ग्राहक र कलाकारको सम्बन्ध बुझ्न सिके। विमान सेवाबाट ग्राहक अनुभवको महत्व देखे। होटलबाट आतिथ्यको शक्ति बुझे। दूरसञ्चारबाट ठूलो उपभोक्ता बजारमा ब्रान्ड कसरी फैलाउन सकिन्छ भन्ने अनुभव पाए। वित्तीय सेवाबाट विश्वासको महत्व बुझ्नुपर्‍यो। अन्तरिक्षले दीर्घकालीन जोखिम र धैर्यको परीक्षा लियो।

यसरी एउटा व्यवसाय अर्को व्यवसायका लागि विद्यालयजस्तो बन्यो।

त्यही कारण उनको साम्राज्यलाई केवल विभिन्न कम्पनीहरूको संग्रह भनेर बुझ्नु अपूर्ण हुन्छ। यो दशकौँको प्रयोगबाट बनेको एउटा व्यावसायिक प्रणाली हो।

एउटा नामको शक्ति

ब्रान्सनको सबैभन्दा ठूलो सम्पत्ति उनका कम्पनीको संख्या मात्र होइन, ‘भर्जिन’ नामप्रतिको विश्वव्यापी पहिचान हो।

भर्जिन समूहका अनुसार अहिले ३५ भन्दा बढी देशमा ४० भन्दा बढी कम्पनी सञ्चालनमा छन् र ६० हजारभन्दा बढी मानिस यसका विभिन्न व्यवसायमा काम गर्छन्। समूहको व्यवसाय यात्रा तथा मनोरञ्जन, स्वास्थ्य तथा कल्याण, संगीत तथा मनोरञ्जन, दूरसञ्चार तथा सञ्चारमाध्यम, वित्तीय सेवा र अन्तरिक्षसम्म फैलिएको छ।

यति फरक क्षेत्रलाई एउटै ब्रान्डमा जोड्नु सामान्य कुरा होइन। विमान कम्पनी र संगीत कम्पनीबीच प्रत्यक्ष सम्बन्ध हुँदैन। होटल र वित्तीय सेवाबीच पनि हुँदैन। अन्तरिक्ष र स्वास्थ्यबीच पनि हुँदैन। तर ग्राहकको दिमागमा ‘भर्जिन’ले फरक अनुभव, नयाँपन र परम्परागत ढाँचालाई चुनौती दिने पहिचान निर्माण गर्न सफल भयो।

यही नै ब्रान्सनको सबैभन्दा ठूलो व्यावसायिक उपलब्धिमध्ये एक हो। उनले कुनै एउटा उद्योगलाई आफ्नो परिचय बनाएनन्। उनले आफ्नो नामलाई उद्योगभन्दा ठूलो बनाए।

सानो सुरुवातको ठूलो अर्थ

रिचर्ड ब्रान्सनको कथा हेर्दा उनको सफलता अचानक आएको देखिँदैन।

१५ वर्षको उमेरमा पत्रिका सुरु गर्दा उनले ठूलो व्यावसायिक साम्राज्यको योजना बनाएका थिएनन्। रेकर्ड बेच्दा विमान कम्पनी खोल्ने निश्चित योजना थिएन। विमान कम्पनी चलाउँदा अन्तरिक्षमा जाने लक्ष्य तत्काल पूरा हुने कुरा थिएन।

हरेक चरणमा उनले आफूअगाडि देखिएको अवसर समाते। त्यसपछि अर्को अवसर खोजे।

फरक कुरा के थियो भने उनी एउटा क्षेत्रमा सफल भएपछि त्यसलाई अन्तिम गन्तव्य मान्दैनथे। सफलता उनलाई अर्को प्रयोगतर्फ लैजाने आधार बन्थ्यो।

यही सोचले एउटा पत्रिकालाई संगीत कम्पनीमा बदल्यो। संगीत कम्पनीले विमान सेवा जन्मायो। विमान सेवाले यात्रासम्बन्धी व्यवसाय विस्तार गर्‍यो। त्यही ब्रान्ड होटल, दूरसञ्चार, वित्तीय सेवा, स्वास्थ्य र समुद्री यात्रासम्म पुग्यो। अन्ततः त्यही नाम अन्तरिक्षको ढोकासम्म पुग्यो।

त्यसैले रिचर्ड ब्रान्सनको कथा एउटा धनी व्यापारीको जीवनीभन्दा धेरै ठूलो छ।

यो एउटा यस्तो व्यावसायिक यात्राको कथा हो, जहाँ असफलता अन्त्य होइन, अर्को प्रयोगको तयारी बन्यो। प्रतिस्पर्धा अवरोध होइन, फरक देखिने अवसर बन्यो। र एउटा सानो ब्रान्ड विस्तार हुँदै उद्योगभन्दा माथि उठेर आफ्नै परिचय बन्यो।

सन् १९६७ मा १५ वर्षको किशोरले सुरु गरेको यात्रा आज पनि विभिन्न क्षेत्रमा नयाँ प्रयोग खोजिरहेको छ। भर्जिनको आधिकारिक इतिहासमा पनि यसको सुरुवात ‘स्टुडेन्ट’ पत्रिकाबाट भएको उल्लेख छ।

ब्रान्सनको यात्राले अन्ततः एउटा सरल तर गहिरो कुरा देखाउँछ। व्यवसायको आकारभन्दा ठूलो कुरा अवसर देख्ने दृष्टि हो। पूँजीभन्दा महत्वपूर्ण कुरा जोखिम लिन सक्ने साहस हो। र सफलताभन्दा पनि महत्वपूर्ण कुरा सफल भएपछि अर्को चुनौती रोज्ने क्षमता हो।

एउटा किशोरको पत्रिकाबाट सुरु भएको नाम संगीतमा पुग्यो, संगीतबाट आकाशमा उड्यो, आकाशबाट होटल र समुद्रतर्फ फैलियो, वित्तीय सेवा र स्वास्थ्यमा प्रवेश गर्‍यो र अन्ततः अन्तरिक्षसम्म पुग्यो।

रिचर्ड ब्रान्सनको कथा त्यसैले केवल ‘भर्जिन’ बनाएको कथा होइन। यो सीमा स्वीकार नगरेर व्यवसायलाई निरन्तर नयाँ सीमातर्फ धकेलिरहने एउटा उद्यमीको कथा हो।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action