काठमाडौँ। काठमाडौँ महानगरपालिकाले उपत्यकाको रात्रिकालीन यातायात सेवालाई विस्तार गर्दै थप २८ वटा बस र ६ नयाँ रुट सञ्चालन गर्न प्रस्ताव गरेको छ। महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाका स्थानीय तहको सहभागितामा दिगो यातायात प्रणाली स्थापना गर्ने तयारी भइरहेको जानकारी दिइन्।
महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ देखि सञ्चालन गरेको रात्रिकालीन सेवाको अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। ट्राफिक विज्ञ जगतमान श्रेष्ठको संयोजकत्वमा रहेको उक्त समितिले तीन महिनाको परीक्षणकालीन सेवाको समीक्षा गरेको हो। प्रतिवेदनअनुसार, यस अवधिमा ६६ हजार ९५२ जनाले सेवा लिएका छन्। हाल ७ वटा बसमार्फत नागढुङ्गा-एयरपोर्ट र लगनखेल-बुढानीलकण्ठ रुटमा सेवा दिइँदै आएको छ।
अध्ययनले रात्रिकालीन सेवामा प्रतिबस दैनिक १ हजार ६९० रुपैयाँ घाटा भइरहेको देखाएको छ। दैनिक सञ्चालन लागत ४ हजार ८१४ रुपैयाँ रहँदा औसत आम्दानी ३ हजार १३४ रुपैयाँ मात्र रहेको छ। राति ८ देखि ९ बजेसम्म यात्रुको चाप सबैभन्दा बढी देखिन्छ।
सेवा विस्तारका लागि प्रस्तावित नयाँ रुटहरूमा गोदावरी-बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती-ठमेल र कीर्तिपुर-नेपाल वायु सेवासम्म छन्। यी रुटले उपत्यकाका मुख्य अस्पताल र व्यावसायिक केन्द्रहरूलाई जोड्नेछन्।
आर्थिक दिगोपनका लागि समितिले तीनवटा विकल्प अघि सारेको छस् भाडामा १२ रुपैयाँ थप गरी ‘रात्रिकालीन प्रिमियम रेट’ कायम गर्ने, ८ वटा नगरपालिकाबीच घाटाको हिस्सा बाँडफाँड गर्ने (भाइबीलिटी ग्याप फण्डिङ), र प्रविधिको प्रयोगमार्फत सेवामा विश्वास बढाउने। साथै, सुरक्षाका लागि बसमा सीसीटीभी र जीपीएस जडान गर्न र डेडिकेटेड बस स्टपको व्यवस्था गर्न प्रतिवेदनले जोड दिएको छ। काठमाडौँ, ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सहकार्यमा यो सेवा विस्तार भएमा निजी सवारीमाथिको निर्भरता घट्ने र रात्रिकालीन अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।
