चितवन। कृष्णभिरमा सडक मर्मत कार्य नसकिँदासम्म नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा आज भदौ २२ गतेदेखि सवारी आवागमन आंशिक रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सडक मर्मत र माटो कटानको कामका लागि दैनिक १२ घण्टा यातायात प्रभावित हुने जनाएको छ।
प्रशासनका अनुसार हरेक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। यो अवधिमा बिहान ६ देखि ८ बजेसम्म, ८:३० देखि १०:३० सम्म, ११ देखि दिउँसो १ बजेसम्म, १:३० देखि ३:३० सम्म र दिउँसो ४ देखि साँझ ६ बजेसम्म सडक बन्द रहनेछ। सवारीसाधन सञ्चालनका लागि हरेक आधा घण्टाको अन्तरालमा सडक खुला गरिनेछ। साँझ ६ बजेपछि भने सडक सुचारु रहनेछ।
कृष्णभिरमा सडक मर्मत जारी रहेको र नयाँ ट्र्याक खोल्न समय लाग्ने भएकाले सो खण्डमा सवारी आवागमन बन्द छ। सोही कारण नारायणगढ-मुग्लिन सडकमा सवारीको चाप कम भएको मौका छोपी तुइन खोलामा माटो कटानको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ। कृष्णभिरको मर्मत सम्पन्न नभएसम्म यो कार्यतालिका लागू रहनेछ।
