काठमाडाैं । नेपालको पर्यटन क्षेत्रमा सुरु भएको मुख्य पर्यटकीय सिजन बाढीका कारण प्रभावित भएको छ। सेप्टेम्बरदेखि सुरु भएको चार महिना लामो सिजनका लागि उत्साहजनक बुकिङ देखिए पनि प्राकृतिक विपद्ले गर्दा होटल बुकिङ धमाधम रद्द भइरहेका छन्। व्यवसायीका अनुसार सेप्टेम्बर महिनाका लागि ७० प्रतिशतसम्म पुगिसकेको होटल बुकिङ अहिले ५ प्रतिशतमा झरेको छ।
रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीले राजमार्गहरूमा क्षति पुर्याएको छ र धेरै विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। यसले गर्दा नेपालको पदयात्रा जोखिमपूर्ण रहेको सन्देश बाहिर जाँदा पर्यटकहरूले बुकिङ रद्द गरिरहेको व्यवसायी दोर्जे लामाले बताए। उनले भने, ‘पर्यटन क्षेत्रमा फेरि सन्नाटा छाएको छ। पर्यटकले धमाधम बुकिङ रद्द गरेपछि व्यवसायीमा अन्योलता छाएको छ।’
विशेषगरी भारतीय पर्यटकको आगमनमा ठूलो गिरावट आएको छ। बाढीमा परेर धेरै भारतीय पर्यटकले ज्यान गुमाएको र केही अझै हराइरहेका कारण भारतीय पाहुना आउने अवस्था नरहेको व्यवसायी नरेश भट्टराईले जानकारी दिए। उनका अनुसार पोखरा क्षेत्रमा पनि बाटो अवरुद्ध हुँदा आन्तरिक पर्यटकको आगमनसमेत प्रभावित भएको छ।
होटल संघ गण्डकीका अध्यक्ष हरि शर्माले पर्यटन क्षेत्र अहिले गम्भीर संकटमा परेको बताए। उनले भने, ‘अहिलेसम्म अक्टोबर र नोभेम्बरको बुकिङलाई खासै असर परेको छैन। तर, यही अवस्था रहेमा अक्टोबर-नोभेम्बरको सिजन पनि प्रभावित हुनेछ।’
नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले पर्यटन क्षेत्र सुस्ताएको स्वीकार गरे। उनले भने, ‘सेप्टेम्बरको बुकिङ ७० प्रतिशत उकालो लागिसकेको थियो, तर अहिले ५ प्रतिशतमा झरेको छ। देशको प्रभावित क्षेत्रबाहेक अन्यत्र सुरक्षित छ भनेर सन्देश दिएर पाहुनालाई घुम्न आउन आग्रह गर्नुको विकल्प छैन।’ बोर्डले अहिले पर्यटकलाई नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्न थालेको छ।
