काठमाडौँ। काठमाडौँमा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार उपत्यकामा दैनिक ४० हजार सिलिन्डरको माग रहे पनि हाल २५ हजार सिलिन्डर मात्र आपूर्ति भइरहेको छ।
धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको सडक खण्ड बाढीका कारण कटान भएपछि मुख्य मार्ग ८ दिनदेखि अवरुद्ध छ। यसले गर्दा ग्याससहित पेट्रोलियम पदार्थ र खाद्यान्न ढुवानी नराम्ररी प्रभावित भएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार दैनिक १५ हजार सिलिन्डरको अभाव छ। हाल तराईका डिपोहरूबाट ग्यास सिलिन्डरमा भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याउने प्रयास भइरहेको छ।
आपूर्तिमा आएको कमीका कारण नेपाल एलपी ग्यास उद्योग संघले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त शुल्क लिने निर्णय गरेको छ। यससँगै काठमाडौँमा ग्यासको मूल्य २,०६० रुपैयाँबाट बढेर २,१६५ रुपैयाँ ३८ पैसा पुगेको छ। उद्योगीहरूले वैकल्पिक मार्गको ढुवानी लागतका कारण यो मूल्य वृद्धि गरिएको तर्क गरेका छन्।
उपभोक्ताहरू ग्यास पाउनका लागि मध्यरातदेखि नै डिपोहरूमा लामो लाइन बस्न बाध्य छन्। कतिपय अवस्थामा लामो समय लाइन बसे पनि ग्यास नपाएको गुनासो उपभोक्ताको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले वितरणमा बेथिति रहेको स्वीकार गर्दै केही डिलरहरूले ग्यास होल्ड गरेको पाइएको बताए।
सडक विभागले कृष्णभीरको पहिरो पन्छाउने काम गरिरहेको छ। निगमका प्रवक्ता ठाकुरका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा आएको ३ देखि ४ दिनभित्र बजारमा ग्यासको उपलब्धतामा सुधार आउनेछ। यद्यपि, सडक खुलेपछि पनि बुलेटहरू उद्योगसम्म पुग्ने र रिफिलिङ भएर बजारमा आउन समय लाग्ने भएकाले संकट तत्काल अन्त्य हुने सम्भावना न्यून छ।
