काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख रुपैयाँ धरौटी बुझाएर सोमबार रिहा भएका छन्। स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा मुछिएका पाँडे जिल्ला अदालत काठमाडौंमा थुनछेक बहसका लागि उपस्थित भएका थिए।
न्यायाधीश नवराज दुलालको इजलासले थुनछेक बहसपछि पाँडेलाई उक्त धरौटीमा रिहा गर्न आदेश दिएको हो। पाँडेविरुद्ध संगठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो। साउन २७ गते पाँडेसहित २२ जनालाई प्रतिवादी बनाउँदै उक्त मुद्दा दर्ता भएको थियो। धरौटी रकम बुझाएपछि उनी सोमबार नै रिहा भएका हुन्। यसअघि सोही प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।
