काठमाडौं। भायानेट कम्युनिकेसन्स लिमिटेडले रसुवामा बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता प्रकट गरेको छ। विपद्को समयमा आवश्यक राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुर्याउनु आफ्नो सामाजिक उत्तरदायित्व रहेको भायानेटले जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको उक्त रकमले रसुवामा जारी राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। साथै, कम्पनीले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
