काठमाडौँ। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख ६६५ रुपैयाँ सहयोग गरेको छ। संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १६ लाख र कर्मचारीहरूबाट संकलित १४ लाख ६६५ रुपैयाँ गरी उक्त रकम कोषमा दाखिला गरेको हो।
संस्थाले नगद सहयोगका अतिरिक्त बाढीपीडितका लागि आवश्यक दैनिक उपभोग्य सामग्रीहरू समेत प्रत्यक्ष रूपमा वितरण गरिने जनाएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा लगायतका जिल्लाहरूमा ठूलो क्षति पुर्याएको थियो। संस्थाले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ। साथै, प्रभावित क्षेत्रमा सरकारी तवरबाट राहत र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन संस्थाले अपिल गरेको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस संस्थाले हाल ४० जिल्लामा १५९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थामा हाल २ लाख ८४ हजार ग्राहक सदस्यहरू आबद्ध रहेका छन्।
