पेरिस। कर्मचारीको विरोध प्रदर्शनका कारण बन्द रहेको आइफिल टावर मङ्गलबार पुनः सञ्चालनमा आएको छ। हिन्दू प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीलाई टावरमा खटिन नदिने व्यवस्थापनको निर्देशनको विरोधमा कर्मचारीहरू हड्तालमा उत्रिएका थिए।
सिजिटी युनियनकी प्रतिनिधि डायन डेभोइनका अनुसार ३३० मिटर अग्लो टावरमा बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बापस) को प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीलाई सम्पर्कमा नआउन निर्देशन दिइएको थियो। कर्मचारीले उक्त निर्देशन अस्वीकार्य रहेको भन्दै विरोध जनाएका थिए।
बापसले मङ्गलबार जारी गरेको विज्ञप्तिमा प्रतिनिधिमण्डलको भ्रमणका क्रममा आगन्तुकलाई हुने असुविधा कम गर्न समन्वय मात्र गरिएको र लैङ्गिक आधारमा कुनै अनुरोध नगरिएको स्पष्ट पारेको छ। संस्थाले आफू समानता र पारस्परिक सम्मानको सिद्धान्तप्रति प्रतिबद्ध रहेको जनाउँदै घटनाबाट असुविधा पुगेको भए क्षमा मागेको छ।
पेरिसका मेयर इमानुएल ग्रेगोइरले सामाजिक सञ्जाल एक्समार्फत घटनाको अनुसन्धान गर्ने बताएका छन्। उनले शहरका कुनै पनि स्थानमा लैङ्गिक समानतामाथि सम्झौता नहुने प्रतिबद्धता जनाएका छन्। आइफिल टावर सञ्चालन गर्ने कम्पनीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
डेभोइनले आइफिल टावरमा विभिन्न राष्ट्रप्रमुख र चर्चित व्यक्तिहरू आउने गरे पनि यसअघि यस्तो निर्देशन नपाएको बताइन्। १३७ वर्ष पुरानो यस टावरमा वार्षिक करिब ७० लाख पर्यटक पुग्ने गर्छन्। यसअघि सन् २०२४ को फेब्रुअरीमा मर्मतसम्भार र पारिश्रमिकको माग राख्दै कर्मचारीले गरेको हड्तालका कारण टावर छ दिनसम्म बन्द भएको थियो।
