काठमाडौं। जग्गाको हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा परेको व्यवसायीहरूले बताएका छन्। नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल चेम्बर अफ कमर्सले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरूले यस्तो गुनासो गरेका हुन्।
व्यवसायीहरूका अनुसार २०७६ देखि लागू भएको ३० रोपनीको जग्गा हदबन्दीका कारण घरजग्गा कारोबार नराम्ररी प्रभावित भएको छ। नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष दीपक कुँवरले २०७६ अघि नै जग्गा खरिद गरी अपार्टमेन्ट तथा आवास निर्माण गरेका कम्पनीहरूले अहिले ती संरचना बिक्री गर्न नसकेको जानकारी दिए।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मलहोत्राले घरजग्गा व्यवसायमा देखिएको मन्दीका कारण निर्माण सामग्रीको खपत र रोजगारीमा समेत प्रत्यक्ष असर परेको बताए। महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले व्यावसायिक प्रयोजनका लागि जग्गाको हदबन्दी खुकुलो बनाउन सरकारसँग माग गरेका छन्।
यसैबीच ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी आयोजना हुने भएको छ। उक्त प्रदर्शनी आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रदर्शनीमा १०० भन्दा बढी कक्ष रहनेछन्।
