वाशिङ्टन डीसी। अमेरिकामा डिजेलको औसत मूल्य पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेको छ। अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए) को तथ्यांकअनुसार शुक्रबार डिजेलको मूल्य ६ डलर ६ सेन्ट कायम भएको छ। पछिल्लो एक सातामा मात्र यसको मूल्य ८ सेन्टले बढेको हो।
इरानसँगको युद्धका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुग्नु र रिफाइनरी क्षमतामा कमी आउनु डिजेलको मूल्यवृद्धिको मुख्य कारण मानिएको छ।
रूस र चीनले आन्तरिक माग धान्न इन्धन निर्यातमा कडाइ गरेपछि विश्वबजारमा आपूर्तिमा थप दबाब परेको छ। विज्ञहरूका अनुसार रिफाइनरीहरूले अहिले डिजेल उत्पादनको अधिकतम क्षमता प्रयोग गरिसकेका छन्।
अमेरिकामा डिजेलको मूल्यवृद्धिले ढुवानी लागत बढाउनेछ, जसको प्रत्यक्ष असर खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य वस्तुमा पर्ने अनुमान गरिएको छ। ट्रकिङ र मालवाहक रेल कम्पनीहरूले इन्धनको उच्च लागतलाई ‘फ्युल सरचार्ज’ मार्फत ग्राहकमाथि सार्ने गर्छन्।
क्यालिफोर्नियामा त डिजेलको मूल्य प्रतिग्यालन ७ डलर ९८ सेन्ट पुगिसकेको छ। ग्यासबडीका पेट्रोलियम विश्लेषण प्रमुख प्याट्रिक डे हानका अनुसार क्यालिफोर्नियामा डिजेलको मूल्य ८ डलर नाघ्ने जोखिम छ।
कृषि क्षेत्रमा पनि यसको गम्भीर असर पर्ने देखिएको छ। बाली भित्र्याउने समयमा डिजेल महँगिँदा किसानको उत्पादन लागत बढ्नेछ, जसले खाद्यान्नको मूल्यमा थप वृद्धि ल्याउन सक्छ। यसबाहेक, अमेरिकाका करिब ५० लाख घरमा तताउन प्रयोग हुने ‘हिटिङ आयल’ को मूल्य पनि बढेको छ।
ब्राउन विश्वविद्यालयको लागत ट्र्याकरका अनुसार इरानसँग युद्ध सुरु भएयता डिजेलको मूल्यवृद्धिले अमेरिकी उपभोक्तालाई ४६ अर्ब डलरभन्दा बढीको अतिरिक्त भार थपिसकेको छ। औसतमा प्रत्येक अमेरिकी परिवारले ३५० डलरभन्दा बढी अतिरिक्त खर्च बेहोर्नुपरेको छ।
