udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आयरल्यान्ड : गरिबी र पलायनबाट समृद्धिको छलाङ

भोकमरी, बेरोजगारी र आर्थिक पछौटेपनबाट गुज्रिएको आयरल्यान्डले खुला अर्थतन्त्र, शिक्षा, विदेशी लगानी र युरोपेली बजारमार्फत विश्वकै धनी मुलुकको पहिचान बनायो।

आयरल्यान्ड : गरिबी र पलायनबाट समृद्धिको छलाङ
डब्लिन : आर्थिक रूपान्तरणको आधुनिक प्रतीक। फोटो स्रोत: Wikimedia Commons, CC BY 4.0-Giorgio Galeotti
A A+ A-

इतिहासका पानामा गरिबी, भोकमरी, संघर्ष र पलायनको पर्याय बनेको आयरल्यान्ड आज विश्वकै उच्च आय भएका मुलुकमध्ये एक हो ।

कुनै समय रोजगारी खोज्दै आफ्ना नागरिकलाई विदेश पठाउन बाध्य भएको यो देश अहिले विश्वका ठूला प्रविधि, औषधि, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीका लागि आकर्षक लगानी गन्तव्य बनेको छ ।

सन् १९९० को दशकमा तीव्र आर्थिक वृद्धिका कारण ‘सेल्टिक टाइगर’को नाम पाएको आयरल्यान्डको कथा एकैपटक भएको चमत्कारको कथा होइन ।

यसको पछाडि दशकौं लामो नीतिगत परिवर्तन, संरक्षणवादी अर्थतन्त्रबाट खुला बजारतर्फको मोड, युरोपेली आर्थिक एकीकरण, शिक्षा विस्तार, लक्षित औद्योगिक नीति, कम कर्पोरेट कर, सामाजिक साझेदारी र अमेरिकी लगानी आकर्षित गर्ने रणनीतिक प्रयास छन् ।

आज आयरल्यान्डको अर्थतन्त्रलाई हेर्दा एउटा महत्वपूर्ण सावधानी आवश्यक हुन्छ । यसको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपी अत्यन्त ठूलो देखिन्छ, तर बहुराष्ट्रिय कम्पनीका नाफा, बौद्धिक सम्पत्ति र विमान लिजिङजस्ता अन्तर्राष्ट्रिय गतिविधिका कारण जीडीपीले देशभित्रको वास्तविक आर्थिक अवस्था पूर्ण रूपमा प्रतिनिधित्व गर्दैन ।

यही कारण आयरल्यान्डको केन्द्रीय तथ्यांक कार्यालयले ‘संशोधित कुल राष्ट्रिय आय’ अर्थात् जीएनआई* प्रयोग गर्छ ।

२०२५ मा आयरल्यान्डको जीडीपी ८ प्रतिशत बढ्दा जीएनआई भने ४.७ प्रतिशत बढेको थियो । यसले विदेशी बहुराष्ट्रिय गतिविधिको प्रभाव हटाएर घरेलु अर्थतन्त्रको अवस्था बुझ्न सहयोग गर्छ ।

तर जीडीपीमा देखिएको अतिशयोक्तिपूर्ण प्रभावलाई अलग राख्दा पनि आयरल्यान्डको आर्थिक रूपान्तरण वास्तविक छ ।

रोजगारी बढेको छ, बेरोजगारी नाटकीय रूपमा घटेको छ, निर्यात क्षमतामा ठूलो विस्तार भएको छ, शिक्षा र सीपको स्तर उकासिएको छ र विदेशी लगानीसँगै उच्च मूल्यका उत्पादन तथा सेवाको नयाँ औद्योगिक आधार निर्माण भएको छ ।

यही परिवर्तनको कथा अहिले विकासशील मुलुकका लागि अध्ययनको विषय बनेको छ ।

भोकमरीदेखि पलायनसम्मको देश

आयरल्यान्डको आधुनिक आर्थिक इतिहास बुझ्न १९औँ शताब्दीको भोकमरीसम्म पुग्नुपर्छ । सन् १८४० को दशकको ‘ग्रेट फ्यामिन’ आयरल्यान्डको सामाजिक तथा आर्थिक संरचनामा गहिरो घाउ बन्यो ।

आलुमा आएको रोग, कमजोर खाद्य सुरक्षा र त्यसबेलाको सामाजिक–आर्थिक संरचनाले ठूलो मानवीय संकट सिर्जना गर्‍यो । त्यसपछि लामो समयसम्म आयरल्यान्डमा जनसंख्या घट्दै गयो र विदेश पलायन सामान्य सामाजिक घटना बन्यो ।

भोकमरीपछि पनि विदेश जाने क्रम रोकिएन । अमेरिकासहित बेलायत, क्यानडा र अन्य देशतर्फ ठूलो संख्यामा आयरल्यान्डका नागरिक गए ।

१९औँ शताब्दीको दोस्रो भागदेखि २०औँ शताब्दीको मध्यसम्म आयरल्यान्डको जनसांख्यिक समस्या आर्थिक अवसरको अभावसँग गाँसिएको थियो । अमेरिकासँगको आयरल्यान्डली डायस्पोराको ठूलो समुदाय यही ऐतिहासिक पलायनको परिणाम हो ।

स्वतन्त्रता प्राप्तिपछि पनि आयरल्यान्डले तत्काल समृद्धिको बाटो समाउन सकेन । देशले आफ्नै औद्योगिक आधार निर्माण गर्न खोज्यो र लामो समय संरक्षणवादी नीति अपनायो ।

घरेलु उद्योगलाई बाह्य प्रतिस्पर्धाबाट जोगाउने, आयातमा नियन्त्रण गर्ने र आत्मनिर्भरतालाई प्राथमिकता दिने नीति राजनीतिक रूपमा आकर्षक भए पनि सानो घरेलु बजार भएको आयरल्यान्डका लागि दीर्घकालीन रूपमा पर्याप्त साबित भएन ।

१९५० को दशकमा समस्या झन् स्पष्ट भयो । ठूलो संख्यामा युवा कामको खोजीमा विदेश जान थाले । सन् १९५१ देखि १९६१ बीच करिब ४ लाख ८ हजार मानिस आयरल्यान्डबाट बाहिरिएको तथ्य ऐतिहासिक अध्ययनमा उल्लेख छ ।

त्यस समयको प्रश्न केवल आर्थिक वृद्धि कति भयो भन्ने थिएन । प्रश्न थियो, देशभित्र मानिस बस्ने वातावरण कसरी बनाउने ?

यही प्रश्नले आयरल्यान्डको आर्थिक नीतिमा निर्णायक मोड ल्यायो ।

१९५८ को मोडले खोल्यो विश्वतर्फको ढोका

आयरल्यान्डको आर्थिक पुनर्जागरणको पहिलो ठूलो आधार सन् १९५८ को ‘प्रोग्राम फर इकोनोमिक एक्स्पान्सन’ थियो । अर्थ मन्त्रालयका अधिकारी टी.के. ह्विटेकरको आर्थिक सोच र तत्कालीन राजनीतिक नेतृत्वको समर्थनमा तयार भएको यो कार्यक्रमले संरक्षणवादबाट बाहिर निस्कने बाटो देखायो ।

आयरल्यान्डले पहिलोपटक घरेलु बजारको सीमिततालाई कमजोरीका रूपमा होइन, विश्व बजारतर्फ जाने कारणका रूपमा हेर्न थाल्यो ।

सरकारले विदेशी लगानी आकर्षित गर्ने, निर्यातमुखी उद्योग विकास गर्ने र निजी लगानी बढाउने रणनीति अघि सार्‍यो । औद्योगिक विकासका लागि राज्यको प्रमुख संस्थाका रूपमा इन्डस्ट्रियल डेभलपमेन्ट एजेन्सी अर्थात् आईडीएले पनि यही रणनीतिलाई निरन्तरता दियो ।

आईडीए सन् १९४९ मै स्थापना भएको थियो र सुरुमा यसको उद्देश्य निर्यातमुखी व्यवसाय तथा उद्योगको विकास गर्नु थियो । सन् १९५८ को आर्थिक विस्तार कार्यक्रमले संरक्षणवाद हटाउँदै विदेशी लगानी र निर्यातलाई प्राथमिकता दियो ।

त्यसपछि आयरल्यान्डले क्रमशः व्यापार अवरोध घटायो । सन् १९६५ मा बेलायतसँग भएको स्वतन्त्र व्यापार सम्झौताले पनि अर्थतन्त्रलाई थप बाहिरतर्फ धकेल्यो । सानो बजार र सीमित औद्योगिक क्षमता भएको देशले ठूलो बजारमा प्रवेश गर्नुपर्ने आवश्यकता नीतिको केन्द्रमा आयो ।

यो परिवर्तनको परिणाम तत्कालै देखियो । सन् १९५९ देखि १९६३ सम्म वास्तविक जीएनपी औसत करिब ४.५ प्रतिशतले बढेको र गैरकृषि रोजगारी विस्तारले कृषि क्षेत्रबाट बाहिरिएको श्रमशक्तिलाई समेट्न थालेको अन्तर्राष्ट्रिय मुद्रा कोषको ऐतिहासिक विश्लेषणले देखाउँछ । बेरोजगारी र पलायन पनि घट्न थाले ।

अर्थात् ‘सेल्टिक टाइगर’को कथा १९९० बाट सुरु भएको होइन । त्यसको बीउ तीन दशकअघि नै रोपिएको थियो ।

१९५० को दशकमा गरिएको त्यो नीतिगत मोडले एउटा महत्वपूर्ण पाठ स्थापित गर्‍यो—आर्थिक विकासका लागि नीति एकैपटक चमत्कारी हुनुपर्दैन, तर दिशा सही हुनुपर्छ ।

युरोप र अमेरिकाबीचको रणनीतिक पुल

आयरल्यान्डको अर्को निर्णायक मोड सन् १९७३ मा युरोपेली आर्थिक समुदायमा प्रवेश थियो । १९७२ को जनमतसंग्रहमा ८३ प्रतिशत मतदाताले सदस्यताको पक्षमा मतदान गरेपछि आयरल्यान्ड १ जनवरी १९७३ मा युरोपेली आर्थिक समुदायमा प्रवेश गरेको थियो ।

युरोपमा प्रवेश आयरल्यान्डका लागि केवल राजनीतिक निर्णय थिएन । यो आर्थिक रणनीति थियो ।

बेलायतमा अत्यधिक निर्भर रहेको आयरल्यान्डले ठूलो युरोपेली बजारमा पहुँच पायो । कृषि उत्पादनदेखि औद्योगिक वस्तु र पछि प्रविधि तथा सेवासम्म निर्यातको सम्भावना विस्तार भयो । युरोपेली संरचनागत तथा क्षेत्रीय विकास कोषबाट आएको लगानीले पूर्वाधार र मानव पूँजी निर्माणमा पनि सहयोग पुर्‍यायो ।

यही समयमा आयरल्यान्डले अर्को असाधारण भौगोलिक र सांस्कृतिक फाइदा उपयोग गर्‍यो-अंग्रेजी भाषा र अमेरिकासँगको ऐतिहासिक सम्बन्ध ।

अमेरिकामा ठूलो आयरल्यान्डली डायस्पोरा थियो । तर भावनात्मक सम्बन्ध मात्र पर्याप्त थिएन । आयरल्यान्डले आफूलाई अमेरिकी कम्पनीका लागि युरोप प्रवेश गर्ने व्यावसायिक आधारका रूपमा प्रस्तुत गर्‍यो ।

अंग्रेजी भाषाको श्रमशक्ति, युरोपेली बजारमा पहुँच, तुलनात्मक रूपमा अनुकूल कर व्यवस्था, शिक्षित जनशक्ति र लगानी प्रवर्द्धन गर्ने सरकारी संरचनाले यो प्रस्तावलाई बलियो बनायो ।

यसरी आयरल्यान्डले दुई ठूला आर्थिक क्षेत्रबीच आफूलाई जोड्यो-अमेरिकी पुँजी र प्रविधि तथा युरोपेली बजार ।

यही संयोजनले पछि औषधि, सूचना प्रविधि, सफ्टवेयर, मेडिकल डिभाइस, वित्तीय सेवा र अन्य उच्च मूल्यका उद्योगलाई आकर्षित गर्‍यो ।

युरोपेली संघको तथ्यांकअनुसार १९७३ मा आयरल्यान्डको प्रतिव्यक्ति कुल राष्ट्रिय आय करिब १७ हजार युरोभन्दा केही माथि थियो । २०२३ सम्ममा यो करिब ५८ हजार युरो पुगेको थियो । सो अवधिमा वस्तु व्यापारको सन्तुलन पनि १९७३ को ३४ करोड युरो घाटाबाट २०२३ मा करिब ५२.९७ अर्ब युरो बचतमा पुगेको थियो ।

यसले देखाउँछ, युरोपसँग जोडिनु आयरल्यान्डको आर्थिक इतिहासमा संरचनात्मक परिवर्तनको एउटा महत्वपूर्ण आधार थियो ।

करको दरदेखि लगानीको दरसम्म

आयरल्यान्डको आर्थिक मोडलमा सबैभन्दा बढी चर्चा हुने विषय हो-कम कर्पोरेट कर । सन् २००३ देखि आयरल्यान्डको सामान्य कर्पोरेट कर दर १२.५ प्रतिशत कायम भयो ।

तर आयरल्यान्डको कर रणनीतिलाई केवल ‘कम कर’ भनेर बुझ्नु अधुरो हुन्छ ।

कर छुटसँगै उसले लगानी प्रवर्द्धन गर्ने सरकारी संस्था, दक्ष जनशक्ति, युरोपेली बजारमा पहुँच, कानुनी स्थिरता, अनुसन्धान तथा विकासका लागि प्रोत्साहन र बहुराष्ट्रिय कम्पनीसँग लामो समयसम्म सम्बन्ध निर्माण गर्ने नीति अघि बढायो ।

आईडीएले विदेशी कम्पनीलाई आयरल्यान्डमा ल्याउने मात्र होइन, एकपटक आएपछि उनीहरूको गतिविधिलाई उच्च मूल्यका कामतर्फ लैजाने रणनीति अपनायो ।

सुरुमा श्रमप्रधान तथा कम प्रविधिका उद्योगबाट आएको विदेशी लगानी पछि औषधि, रसायन, इलेक्ट्रोनिक्स, सफ्टवेयर, क्लाउड, वित्तीय तथा अनुसन्धान केन्द्रसम्म विस्तार भयो ।

यस परिवर्तनको अर्को पक्ष थियो-करबाट आकर्षित कम्पनीलाई अर्थतन्त्रसँग जोड्ने प्रयास ।

आज विदेशी स्वामित्वका बहुराष्ट्रिय कम्पनीले आयरल्यान्डको अर्थतन्त्रमा असाधारण ठूलो भूमिका खेल्छन् ।

आयरल्यान्डको केन्द्रीय तथ्यांक कार्यालयका अनुसार २०२५ मा विदेशी बहुराष्ट्रिय कम्पनीले प्रभुत्व जमाएका क्षेत्रले कुल अर्थतन्त्रको आधारभूत मूल्य अभिवृद्धिको ५०.४ प्रतिशत हिस्सा ओगटेका थिए । तर रोजगारीमा उनीहरूको हिस्सा त्यसको तुलनामा निकै कम छ ।

यही अन्तरले आयरल्यान्डको आर्थिक मोडलको जटिलता देखाउँछ ।

डब्लिन : आर्थिक रूपान्तरणको आधुनिक प्रतीक। फोटो स्रोत: Wikimedia Commons, CC BY 4.0-Giorgio Galeotti

बहुराष्ट्रिय कम्पनीले उत्पादन, बौद्धिक सम्पत्ति, नाफा र अन्तर्राष्ट्रिय कारोबारलाई आयरल्यान्डसँग जोड्दा जीडीपी ठूलो हुन्छ । तर ती सबै नाफा आयरल्यान्डका नागरिकको आम्दानी हुँदैनन् । त्यसैले जीडीपीलाई मात्र आधार बनाएर आयरल्यान्डको समृद्धि मापन गर्दा तस्वीर अतिरञ्जित हुन सक्छ ।

यसै कारण जीएनआई* महत्वपूर्ण हुन्छ ।

२०२५ मा आयरल्यान्डको नाममात्र जीडीपी करिब ६०२.४ अर्ब युरो पुगेको थियो भने संशोधित कुल राष्ट्रिय आय ३३४ अर्ब युरो थियो । वास्तविक अर्थात् मूल्य समायोजन गरिएको जीएनआई* २०२५ मा ४.७ प्रतिशतले बढ्यो ।

तर यो तथ्यले आयरल्यान्डको सफलता नक्कली हो भन्ने अर्थ लाग्दैन । बरु उल्टो, बहुराष्ट्रिय कम्पनीले सिर्जना गरेको रोजगारी, कर, स्थानीय सेवा खरिद, अनुसन्धान तथा विकास, पूर्वाधार माग र ज्ञान हस्तान्तरणले घरेलु अर्थतन्त्रमा पनि वास्तविक प्रभाव पार्छ ।

शिक्षित पुस्ताले बदल्यो श्रम बजार

आयरल्यान्डको आर्थिक सफलताको सबैभन्दा कम चर्चा हुने तर सबैभन्दा महत्वपूर्ण आधारमध्ये एउटा शिक्षा हो ।

विदेशी कम्पनीलाई केवल कर छुट दिएर आयरल्यान्डले दीर्घकालीन सफलता हासिल गर्न सक्दैनथ्यो । कम्पनीलाई इन्जिनियर, वैज्ञानिक, प्रोग्रामर, वित्त विशेषज्ञ, प्राविधिक र व्यवस्थापक चाहिन्थ्यो । आयरल्यान्डले यही आवश्यकतालाई शिक्षा प्रणालीसँग जोड्यो ।

१९६० को दशकदेखि शिक्षामा ठूलो विस्तार भयो । १९६७ को बजेट बहसमा पनि तत्कालीन सरकारले शिक्षालाई आयरल्यान्डको आर्थिक सम्भावना विस्तार गर्ने आधारभूत लगानीका रूपमा प्रस्तुत गरेको थियो । माध्यमिक शिक्षामा राज्यको सहभागिता बढाउने र शुल्कको भार घटाउने कार्यक्रम अघि सारियो ।

समयसँगै उच्च शिक्षा विस्तार भयो । प्राविधिक शिक्षामा पनि जोड दिइयो ।

क्षेत्रीय प्राविधिक कलेज र पछि इन्स्टिच्युट अफ टेक्नोलोजीमार्फत उद्योगलाई आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने आधार तयार भयो । अनुसन्धानअनुसार विदेशी लगानीको स्वरूप कम प्रविधिका उत्पादनबाट उच्च प्रविधितर्फ जाँदा शिक्षा विस्तारले आवश्यक सीपयुक्त जनशक्ति उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

यसको परिणाम १९९० को दशकमा देखियो ।

त्यतिबेला आयरल्यान्डसँग काम गर्न सक्ने ठूलो युवा जनसंख्या थियो । बेरोजगार जनशक्ति क्रमशः उत्पादनशील श्रमशक्तिमा परिणत भयो ।

महिलाको श्रम सहभागिता बढ्यो । पहिले विदेश जाने युवामध्ये केही देशमै अवसर खोज्न थाले । आर्थिक वृद्धि भएपछि विदेश गएका आयरल्यान्डली नागरिक फर्किन थाले र पछि अन्य युरोपेली मुलुक तथा विश्वका विभिन्न भागबाट श्रमिकसमेत आयरल्यान्ड आउन थाले ।

यो जनसांख्यिक परिवर्तन आफैंमा आर्थिक इन्धन बन्यो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार १९९० को दशकमा आयरल्यान्डको बेरोजगारी करिब १५ प्रतिशतबाट घटेर २००० को अन्त्यसम्म ४ प्रतिशतभन्दा तल पुगेको थियो । त्यस अवधिमा रोजगारी विस्तारसँगै प्रतिव्यक्ति आम्दानी युरोपेली औसतसँग तीव्र गतिमा नजिकिएको थियो ।

यही बिन्दुमा आयरल्यान्डको पुरानो परिचय उल्टियो ।

जहाँ कुनै समय ‘काम छैन, विदेश जाऊ’ भन्ने सामाजिक यथार्थ थियो, त्यहाँ केही वर्षमै ‘काम खोज्न आयरल्यान्ड आऊ’ भन्ने अवस्था बन्यो ।

‘सेल्टिक टाइगर’को वास्तविक विस्फोट

१९९० को दशक आयरल्यान्डको आर्थिक इतिहासको सबैभन्दा चर्चित अध्याय हो ।

१९९५ देखि २००० बीच उत्पादन वृद्धिको औसत दर करिब १० प्रतिशत पुगेको अन्तर्राष्ट्रिय मुद्रा कोषको अध्ययनमा उल्लेख छ । १९९० को दशकको तीव्र वृद्धिका कारण आयरल्यान्डले ‘सेल्टिक टाइगर’को उपनाम पायो ।

तर यस वृद्धिको कारण एउटा मात्र थिएन ।

पहिलो, विश्व अर्थतन्त्रमा प्रविधि र सूचना प्रविधिको विस्तार भइरहेको थियो ।

दोस्रो, अमेरिकी अर्थतन्त्र पुनरुत्थान भइरहेको थियो । तेस्रो, आयरल्यान्डमा शिक्षित युवा श्रमशक्ति उपलब्ध थियो ।

चौथो, युरोपेली एकल बजारमा सहज पहुँच थियो । पाँचौँ, विदेशी कम्पनीका लागि कर तथा लगानी वातावरण आकर्षक थियो ।

छैटौँ, सरकार, उद्योग र श्रमिकबीच सामाजिक साझेदारीको नयाँ मोडल विकास भएको थियो ।

सन् १९८७ को ‘प्रोग्राम फर नेसनल रिकभरी’ यसमा महत्वपूर्ण थियो । सरकारले श्रमिक संगठन, रोजगारदाता र अन्य सामाजिक साझेदारसँग सम्झौता गरेर ज्याला वृद्धिलाई संयमित बनाउने, कर सुधार गर्ने र सार्वजनिक वित्तलाई व्यवस्थित गर्ने बाटो लियो ।

यसबाट दुईवटा कुरा भयो । सरकारले वित्तीय अनुशासन कायम गर्ने अवसर पायो र निजी क्षेत्रले लगानीका लागि तुलनात्मक रूपमा स्थिर वातावरण पायो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार १९८८ मा जीडीपीको १०० प्रतिशतभन्दा माथि रहेको सार्वजनिक ऋण अनुपात २००७ सम्म करिब २४ प्रतिशतमा झरेको थियो ।

यसले आयरल्यान्डलाई थप लगानीमैत्री बनायो ।

आर्थिक वृद्धिसँगै कर आम्दानी बढ्यो । कर आम्दानी बढेपछि करको दर घटाउने ठाउँ बन्यो । कम करले थप लगानी आकर्षित गर्‍यो । लगानीले रोजगारी र उत्पादन बढायो । रोजगारीले उपभोग र कर आधार विस्तार गर्‍यो ।

यो एक प्रकारको सकारात्मक आर्थिक चक्र बन्यो । यही चक्रलाई विश्वले ‘सेल्टिक टाइगर’ भनेर चिन्यो ।

औषधि र प्रविधिले बनायो नयाँ निर्यात शक्ति

आजको आयरल्यान्डलाई कृषि प्रधान देशका रूपमा बुझ्न सकिँदैन । यसको निर्यात संरचना नै परिवर्तन भइसकेको छ ।

२०२५ मा आयरल्यान्डको वस्तु निर्यात २६०.३ अर्ब युरो पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १६.४ प्रतिशत बढी हो । त्यसमध्ये औषधि तथा चिकित्सा उत्पादनको निर्यात मात्रै १३८.६ अर्ब युरो थियो, जुन कुल वस्तु निर्यातको ५३.२ प्रतिशत हो ।

यो तथ्यांकले आयरल्यान्डको औद्योगिक रूपान्तरणको आकार देखाउँछ ।

औषधि उद्योग, रसायन, मेडिकल डिभाइस, कम्प्युटर तथा इलेक्ट्रोनिक उत्पादन र सूचना तथा सञ्चार क्षेत्रमा बहुराष्ट्रिय कम्पनीको उपस्थिति अत्यन्त ठूलो छ ।

२०२५ मा विदेशी बहुराष्ट्रिय कम्पनीले प्रभुत्व जमाएका औद्योगिक क्षेत्रले मात्रै आयरल्यान्डको कुल मूल्य अभिवृद्धिमा २८.१ प्रतिशत योगदान दिएका थिए । सूचना तथा सञ्चारसम्बन्धी बहुराष्ट्रिय क्षेत्रको हिस्सा थप २२.३ प्रतिशत थियो ।

अर्थात् करको दरले कम्पनी ल्यायो भने शिक्षा र औद्योगिक नीतिले उनीहरूलाई बस्ने कारण दियो ।

यही दीर्घकालीन सम्बन्धले आयरल्यान्डलाई उत्पादनको मात्र होइन, अनुसन्धान तथा विकासको केन्द्रसमेत बनायो ।

२०२५ मा आईडीए आयरल्यान्डले ३२३ वटा लगानी स्वीकृत गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशत बढी हो । ती लगानीबाट आगामी वर्षहरूमा १५ हजार ३०० भन्दा बढी रोजगारी सिर्जना हुने अनुमान गरिएको थियो । त्यस्तै अनुसन्धान, विकास तथा नवप्रवर्तनतर्फ ८० वटा लगानी परियोजनामा करिब २.५ अर्ब युरो बराबरको ग्राहक खर्च प्रतिबद्धता भएको आईडीएले जनाएको छ ।

२०२५ को अन्त्यसम्म आईडीएका ग्राहक कम्पनीमा प्रत्यक्ष रोजगारी ३ लाख १२ हजार ४ सय पुगेको थियो ।

यो संख्या आयरल्यान्डको आकारको अर्थतन्त्रका लागि निकै ठूलो हो ।

विदेशी लगानीलाई केवल पूँजीका रूपमा होइन, रोजगारी, प्रविधि, व्यवस्थापन, अनुसन्धान र विश्व बजारसँग जोड्ने माध्यमका रूपमा प्रयोग गर्नु आयरल्यान्डको महत्वपूर्ण रणनीतिक उपलब्धि हो ।

संकटले पनि सिकायो, एउटै मोडल पर्याप्त छैन

आयरल्यान्डको सफलता भने संकटरहित यात्रा थिएन ।

२००० को दशकको सुरुवातपछि प्रविधि क्षेत्रमा आएको विश्वव्यापी मन्दी, त्यसपछि अत्यधिक घरजग्गा र बैंकिङ क्षेत्रमा बढेको जोखिमले आयरल्यान्डलाई गम्भीर आर्थिक संकटमा धकेल्यो ।

२००८ को विश्व वित्तीय संकटले आयरल्यान्डको कमजोरी उजागर गर्‍यो । लामो समयको आर्थिक वृद्धिसँगै घरजग्गामा अत्यधिक लगानी भएको थियो । बैंकिङ क्षेत्र घरजग्गासँग गहिरो रूपमा जोडिएको थियो । बजारमा आएको गिरावटपछि बैंकिङ संकट र सरकारी वित्तीय संकट एकअर्कासँग गाँसिए ।

यसले एउटा महत्वपूर्ण पाठ दियो—उच्च वृद्धि र आर्थिक स्थायित्व एउटै कुरा होइन ।

आयरल्यान्डले त्यसपछि कठोर वित्तीय सुधार, बैंक पुनर्संरचना र अन्तर्राष्ट्रिय सहयोगको बाटो अपनायो । केही वर्ष कठिन समायोजनपछि अर्थतन्त्र फेरि विस्तार हुन थाल्यो ।

आज आयरल्यान्डले पहिलेको अनुभवबाट सिकेर अर्थतन्त्रलाई थप विविध बनाउने प्रयास गरिरहेको छ । तर बहुराष्ट्रिय कम्पनीमा उच्च निर्भरता अझै पनि चुनौती हो ।

२०२५ को तथ्यांकले पनि यही जटिलता देखाउँछ । आयरल्यान्डको जीडीपी ८ प्रतिशत बढ्दा बहुराष्ट्रिय कम्पनी प्रभुत्व भएका क्षेत्र १४.५ प्रतिशतले बढेका थिए, जबकि घरेलु क्षेत्रमा आधारित क्षेत्र २.२ प्रतिशतले मात्रै बढेका थिए ।

अर्थात् देशको राष्ट्रिय उत्पादनको ठूलो हिस्सा विश्वव्यापी कम्पनीको निर्णय, अन्तर्राष्ट्रिय कर व्यवस्था, बौद्धिक सम्पत्ति संरचना र बाह्य मागसँग जोडिएको छ ।

यही कारण आयरल्यान्डका लागि अबको चुनौती विदेशी कम्पनी ल्याउनु मात्र होइन, उनीहरूलाई देशको घरेलु अर्थतन्त्रसँग अझ गहिरो रूपमा जोड्नु हो ।

समृद्धिको अर्को परीक्षा आवास

आयरल्यान्डले गरिबीबाट समृद्धितर्फ छलाङ मार्‍यो । तर समृद्धिसँगै नयाँ समस्या जन्मियो-घर ।

तीव्र आर्थिक वृद्धि, रोजगारी विस्तार र जनसंख्या वृद्धिले विशेषगरी डब्लिन तथा प्रमुख सहरमा आवासको माग तीव्र बनायो । तर आपूर्ति त्यही गतिमा बढ्न सकेन ।

आयरल्यान्डको आवास समस्यामा विगतको कम लगानी, निर्माण लागत, योजना तथा अनुमति प्रक्रियाको जटिलता, निर्माण क्षेत्रमा उत्पादकत्वको समस्या र बढ्दो जनसंख्या सबै जोडिएका छन् । आर्थिक सहयोग तथा विकास संगठनले २०२५ को आयरल्यान्डसम्बन्धी अध्ययनमा आवासको उपलब्धता र किफायतीपनको समस्या अर्थतन्त्रको प्रतिस्पर्धात्मकतासँग समेत जोडिएको उल्लेख गरेको छ ।

२०१३ देखि २०२३ बीच वास्तविक घरको मूल्य औसतमा वार्षिक ५.५ प्रतिशतले बढेको थियो । सोही अवधिमा मुख्य आवासको वास्तविक भाडा औसत ४.६ प्रतिशतले बढेको थियो । आवाससँग सम्बन्धित खर्च २०२३ मा घरपरिवारको अन्तिम उपभोग खर्चको २६ प्रतिशत पुगेको थियो ।

यो केवल सामाजिक समस्या होइन, आर्थिक समस्या पनि हो ।

बहुराष्ट्रिय कम्पनीलाई इन्जिनियर चाहिन्छ । सफ्टवेयर कम्पनीलाई प्रोग्रामर चाहिन्छ । अस्पताललाई चिकित्सक र स्वास्थ्यकर्मी चाहिन्छ । औषधि उद्योगलाई वैज्ञानिक चाहिन्छ । तर ती कर्मचारीले बस्ने घर नपाए भने कम्पनीले नयाँ लगानी विस्तार गर्न कठिन हुन्छ ।

यही कारण आवास अहिले आयरल्यान्डको विदेशी लगानी रणनीतिकै हिस्सा बन्न थालेको छ ।

सरकारले निर्माण बढाउने प्रयास गरिरहेको छ । २०२५ मा ३६ हजार २८४ नयाँ घर निर्माण सम्पन्न भएका थिए, जुन २०११ पछि एक वर्षमा सम्पन्न भएको सबैभन्दा ठूलो संख्या हो । अघिल्लो वर्षको तुलनामा यो २०.४ प्रतिशत बढी हो ।

तर आपूर्ति बढ्दै गए पनि माग र आपूर्तिबीचको असन्तुलन अझै पूर्ण रूपमा हटेको छैन ।

आयरल्यान्डको अहिलेको चुनौती यही हो—आर्थिक वृद्धि आफैंमा पर्याप्त छैन । आर्थिक वृद्धिले सिर्जना गरेको सम्पत्ति नागरिकले बस्ने घर, राम्रो पूर्वाधार, सार्वजनिक सेवा र किफायती जीवनमा रूपान्तरण गर्न सक्नुपर्छ ।

आयरल्यान्डले संसारलाई दिएको पाठ

आयरल्यान्डको आर्थिक यात्रा हेर्दा यसको सफलतालाई एउटा सूत्रमा सीमित गर्न सकिँदैन ।

कम कर्पोरेट कर मात्रै भए आयरल्यान्ड बन्न सकिँदैन । युरोपेली संघको सदस्यता मात्रै भए पनि हुँदैन । विदेशी लगानी मात्र भित्र्याएर पनि समृद्धि सम्भव हुँदैन । शिक्षित जनशक्ति मात्र भएर पनि विश्व बजार जित्न सकिँदैन ।

आयरल्यान्डको सफलता यी सबैलाई एउटै आर्थिक संरचनामा जोड्ने क्षमतामा छ ।

सन् १९५० को दशकमा देशले संरक्षणवादको सीमितता स्वीकार गर्‍यो । सन् १९५८ मा निर्यात र विदेशी लगानीतर्फ निर्णायक मोड लियो ।

१९६० को दशकमा व्यापार खोल्यो । १९७३ मा युरोपेली बजारमा प्रवेश गर्‍यो । शिक्षामा दीर्घकालीन लगानी गर्‍यो ।

१९८० को दशकमा सार्वजनिक वित्त र श्रम सम्बन्धमा सामाजिक साझेदारी विकास गर्‍यो । १९९० को दशकमा सूचना प्रविधि र उच्च मूल्यका विदेशी लगानीलाई तीव्र रूपमा विस्तार गर्‍यो ।

२००८ को संकटपछि वित्तीय क्षेत्र पुनर्संरचना गर्‍यो । र अहिले बहुराष्ट्रिय कम्पनीमा आधारित वृद्धिलाई थप घरेलु क्षमता, अनुसन्धान, नवप्रवर्तन र पूर्वाधारसँग जोड्ने प्रयास गरिरहेको छ ।

यसरी हेर्दा आयरल्यान्डको ‘चमत्कार’ वास्तवमा चमत्कार थिएन । यो धेरै वर्षसम्म दोहोर्‍याइएको नीतिगत निरन्तरता, परिवर्तन स्वीकार गर्ने राजनीतिक इच्छाशक्ति र विश्व अर्थतन्त्रको अवसर पहिचान गर्ने क्षमताको परिणाम थियो ।

यसको सबैभन्दा ठूलो प्रमाण रोजगारी हो । १९८० को दशकको अन्त्य र १९९० को सुरुवातमा १५ प्रतिशतभन्दा माथि पुगेको बेरोजगारी २००० को अन्त्यसम्म ४ प्रतिशतभन्दा तल झर्‍यो ।

आज विदेशी लगानीका कम्पनीमा मात्रै ३ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी छ । २०२५ मा आईडीएअन्तर्गतका कम्पनीको रोजगारी ३ लाख १२ हजार ४ सय पुगेको थियो ।

यसबाहेक सरकारी उद्यम प्रवर्द्धन निकायहरूका ग्राहक कम्पनीमा २०२५ मा ५ लाख ५४ हजार ६०८ भन्दा बढी रोजगारी पुगेको थियो, जुन आयरल्यान्डको कुल रोजगारीको करिब २० प्रतिशत हो ।

निर्यातको आकार पनि आयरल्यान्डको परिवर्तनको अर्को प्रमाण हो । २०२५ मा वस्तु निर्यात मात्रै २६० अर्ब युरो नाघ्यो र औषधि तथा चिकित्सा उत्पादनले त्यसको आधाभन्दा बढी हिस्सा ओगट्यो ।

त्यसैले आयरल्यान्डको वास्तविक उपलब्धि जीडीपीको ठूलो अंकमा मात्र छैन । वास्तविक उपलब्धि भनेको एउटा समय विदेश पलायन गर्न बाध्य देशले आफ्नै नागरिक र विश्वका दक्ष जनशक्तिका लागि रोजगारी सिर्जना गर्ने अर्थतन्त्र निर्माण गर्नु हो । तर अबको परीक्षा अझ कठिन छ ।

बहुराष्ट्रिय कम्पनीमा अत्यधिक निर्भरता, अमेरिकी कर नीतिमा सम्भावित परिवर्तन, विश्व व्यापारमा बढ्दो संरक्षणवाद, प्रविधि क्षेत्रमा तीव्र प्रतिस्पर्धा, ऊर्जा तथा पूर्वाधारको दबाब र आवास संकटले आयरल्यान्डको पुरानो मोडललाई नयाँ चरणमा प्रवेश गराउँदैछ ।

त्यसैले आयरल्यान्डको अर्को आर्थिक अध्याय ‘कम करले कम्पनी ल्याउने’ भन्दा अगाडि जानुपर्नेछ । अनुसन्धान, नवप्रवर्तन, घरेलु उद्यम, पूर्वाधार, आवास, सीप र उत्पादकत्वलाई एकैसाथ बलियो बनाउनुपर्नेछ ।

यही कारण आयरल्यान्डको कथा विकासशील देशका लागि केवल प्रेरणाको कथा होइन, नीतिगत अध्ययनको विषय पनि हो ।

कुनै प्राकृतिक स्रोतको विशाल भण्डार नभएको, घरेलु बजार सानो भएको र इतिहासको लामो समय गरिबी तथा पलायनसँग जुधेको देशले आफ्नो सबैभन्दा ठूलो सम्पत्ति जमिनभित्र होइन, मानिसभित्र खोज्यो ।

शिक्षालाई उत्पादनसँग जोड्यो । उत्पादनलाई निर्यातसँग जोड्यो । निर्यातलाई विश्व बजारसँग जोड्यो । विश्व बजारलाई विदेशी लगानीसँग जोड्यो ।

र विदेशी लगानीलाई रोजगारी, अनुसन्धान र सीपसँग जोड्ने प्रयास गर्‍यो । आजको आयरल्यान्ड यही जोडिएको आर्थिक संरचनाको परिणाम हो ।

तर यसको अन्तिम पाठ अझ सरल छ—समृद्धि केवल पैसा भित्र्याएर आउँदैन । त्यसका लागि देशले बाहिरी अवसरलाई आन्तरिक क्षमतामा बदल्न सक्नुपर्छ ।

आयरल्यान्डले यही काम गर्‍यो । एक समय भोकमरीले थला परेको, युवालाई विदेश पठाएको र युरोपको आर्थिक किनारामा रहेको देश आज औषधि, प्रविधि र उच्च मूल्यका सेवाको विश्वव्यापी केन्द्र बनेको छ ।

२०२५ मा यसको संशोधित राष्ट्रिय आय पनि वास्तविक रूपमा ४.७ प्रतिशत बढ्नुले बहुराष्ट्रिय कम्पनीले बढाएको जीडीपीभन्दा बाहिर पनि घरेलु अर्थतन्त्रमा उल्लेखनीय गतिशीलता रहेको देखाउँछ ।

तर समृद्धिको अर्को चरणमा आयरल्यान्डले एउटै प्रश्नको उत्तर दिनुपर्नेछ—विश्वका कम्पनीलाई आकर्षित गरेर धनी बनेको देशले आफ्ना नागरिकका लागि त्यही अनुपातमा किफायती घर, सार्वजनिक सेवा र जीवनस्तर पनि सुनिश्चित गर्न सक्छ कि सक्दैन ?

यही प्रश्नले ‘सेल्टिक टाइगर’को पुरानो सफलतालाई नयाँ परीक्षामा उभ्याएको छ । आयरल्यान्डको यात्रा सकिएको छैन । गरिबीबाट समृद्धिसम्म आइपुगेको यो देश अहिले समृद्धिलाई दिगो, समावेशी र नागरिकको दैनिक जीवनमा अनुभूत हुने बनाउने अर्को चरणमा प्रवेश गरेको छ ।

त्यसैले आयरल्यान्डको असली आर्थिक चमत्कार उसको आजको धनमा मात्र होइन, दशकौंसम्म नीति बदल्ने, शिक्षा बढाउने, विश्वसँग जोडिने र अवसरलाई राष्ट्रिय क्षमतामा बदल्ने निरन्तरतामा छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action