काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीले दूरसञ्चार पूर्वाधारमा करिब ६३ करोड रुपियाँ बराबरको क्षति पुर्याएको छ।
सरकारले सार्वजनिक गरेको द्रुत क्षति आवश्यकता आकलन प्रतिवेदन अनुसार मोबाइल टावर, फाइबर नेटवर्क र इन्टरनेट सेवाप्रदायकका पूर्वाधारमा कुल ६२ करोड ८७ लाख रुपियाँको क्षति भएको हो।
गत भदौ १० गते रसुवास्थित भोटेकोशीमा आएको बाढीले नेपाल टेलिकमका तीन र एनसेलको एक टावरमा क्षति पुर्याएको छ। यसका साथै टेलिकमको ९१ किलोमिटर र एनसेलको ६१ किलोमिटर गरी कुल १५२ किलोमिटर फाइबरमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। कुल क्षतिको ४२.१ प्रतिशत हिस्सा फाइबर र २८.२ प्रतिशत हिस्सा इन्टरनेट सेवाप्रदायकका पूर्वाधारले ओगटेको छ। सेवाप्रदायकका अनुसार कुल क्षतिको ५२.७ प्रतिशत नेपाल टेलिकमको रहेको छ।
प्रतिवेदनले यी पूर्वाधारको पुनरुत्थानका लागि ९४ करोड ३० लाख रुपियाँ लाग्ने अनुमान गरेको छ। जसमा प्रारम्भिक चरणका लागि ३४ करोड र दीर्घकालीन पुनरुत्थानका लागि ६० करोड ३० लाख रुपियाँ आवश्यक पर्नेछ। तीन महिनाभित्र इन्टरनेट सेवा र चार महिनाभित्र दूरसञ्चार प्रणालीको पुनरुत्थान गर्ने लक्ष्य राखिएको छ।
प्रतिवेदनले भविष्यमा हुने क्षति न्यूनीकरणका लागि जोखिमयुक्त स्थानमा उत्थानशील पूर्वाधार निर्माण गर्न र उपकरणको स्थानान्तरण तथा भरपर्दो ऊर्जा व्यवस्थापनमा जोड दिएको छ। सडक र पुलको संरचनासँग समन्वय गरी सेवा पुनर्स्थापना गर्नुपर्ने सुझाव पनि दिइएको छ। दूरसञ्चार सेवाप्रदायकले भने वैकल्पिक उपाय अपनाएर प्रभावित क्षेत्रमा अधिकांश सेवा पुनः सञ्चालनमा ल्याइसकेको जनाएका छन्।
