काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले आन्तरिक वायुसेवाको बीमा दायित्व वृद्धि गरी १ लाख अमेरिकी डलर पुऱ्याउने प्रस्ताव गरेका छन्।
मंगलबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको छलफलका क्रममा मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन्।
हाल अभ्यासमा रहेको करिब २० हजार अमेरिकी डलरको बीमा दायित्वलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बढाएर १ लाख डलर पुऱ्याउन लागिएको मन्त्री पौडेलले बताए। उनले उडान रद्द, ढिलाइ र ब्यागेज हराएका अवस्थामा यात्रुले पाउने क्षतिपूर्ति र अधिकारलाई कानुनमै सुनिश्चित गर्न खोजिएको स्पष्ट पारे।
मन्त्री पौडेलले विमान दुर्घटनामा परी जमिन वा घरमा रहेका गैर-यात्रुको ज्यान वा सम्पत्तिमा क्षति पुगेमा समेत क्षतिपूर्ति दिलाउने कानुनी आधार पहिलोपटक तय गर्न लागिएको उल्लेख गरे। बीमा रकम वृद्धि हुँदा भविष्यमा हवाई भाडादरमा केही वृद्धि हुन सक्ने सम्भावनाप्रति सबै पक्ष सहज हुनुपर्ने उनको भनाइ छ।
साथै, नियमनकारी र सेवा प्रदायक निकायको विभाजन तथा विमानस्थल सञ्चालनसम्बन्धी अन्य विषय नेपाल नागरिक उड्डयन प्राधिकरणको छुट्टै विधेयकबाट सम्बोधन हुने उनले जानकारी दिएका छन्।
