बैतडी। तोकिएको समयमा निर्माण तथा मर्मत कार्य पूरा नगर्ने बैतडीका १० वटा सडक आयोजनाको ठेक्का सम्झौता रद्द गरिएको छ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन पाटनले म्याद सकिएपछि पनि काम सम्पन्न नभएका ठेक्काहरू खारेज गरेको हो।
सडक डिभिजन कार्यालय बैतडीका प्रमुख किरण सुवेदीका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) बमोजिम ती सम्झौताहरू अन्त्य गरिएको हो। रद्द गरिएका ठेक्काहरूमा सडक स्तरोन्नति, पुनस्र्थापना, सतह मर्मत र सडक सुरक्षासँग सम्बन्धित कार्यहरू समावेश छन्।
रद्द गरिएका ठेक्काहरूमा अनारखोली-खोड्पे-पाटन सडक, खोड्पे-चैनपुर खण्ड, सतबाँझ-गोकुलेश्वर-दार्चुला सडक र मध्यपहाडी राजमार्गका विभिन्न खण्डहरू रहेका छन्। न्यु सहारा कन्स्ट्रक्सन, जयलक्ष्मी निर्माण सेवा, प्रभास कन्स्ट्रक्सन, नरेन्द्र निर्माण सेवा, कुलगडे निर्माण सेवा, बिग बी एन्ड कम्पनी र रन्सैनी निर्माण सेवाका ठेक्काहरू रद्द गरिएको कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालयले सम्झौता रद्द गरिएका निर्माण व्यवसायीहरूलाई सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम कालो सूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया अगाडि बढाएको छ। साथै, सार्वजनिक खरिद ऐनअनुसार उनीहरूको कार्यसम्पादन जमानतबापतको रकम जफत गरिने भएको छ।
