काठमाडौं। भारतबाट आयात हुने तरकारीमा भन्सार कडाइ गरिएसँगै बाँकेका किसानले उत्पादन गरेको सागसब्जीले उचित मूल्य पाउन थालेको छ।
स्थानीय उत्पादनले बजार पाएपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। बाँकेको डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडामा किसानले व्यावसायिक तरकारी खेती विस्तार गरेका छन्।
नेपालगन्ज-२१ पुरैनीका किसान सलाउद्दीन बागवानले पहिले उत्पादन बिक्री गर्न टाढा जानुपर्ने बाध्यता रहेकोमा अहिले खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेको बताउनुभयो।
नेपालगन्जस्थित रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार भन्सार प्रावधानका कारण भारतबाट आउने तरकारी महँगो पर्ने भएकाले व्यवसायीले आयात घटाएका छन्।
यसले गर्दा स्थानीय उत्पादनले सहजै बजार पाएको छ। थोक व्यवसायी मोहियुद्दिन राईले विगतमा भारतीय सस्तो तरकारीसँग प्रतिस्पर्धा गर्न नसकेका किसानले अहिले आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेको जानकारी दिनुभयो।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार जिल्लामा हाल ६ हजार ३५२ हेक्टर जमिनमा वार्षिक १३ हजार मेट्रिक टनभन्दा बढी तरकारी उत्पादन हुने गरेको छ।
विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसान अहिले व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर भएका छन्। केन्द्रले महिला तथा बालबालिका पोषण सुधार कार्यक्रमअन्तर्गत १ हजार ३५० किसानलाई हिउँदे तरकारीको बीउ वितरण गरेको छ।
अहिले नेपालगन्जको बजारमा स्थानीय किसानले उत्पादन गरेका फूलगोभी, बन्दागोभी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेडा र खुर्सानीलगायतका तरकारीले माग धानिरहेको छ।
