काठमाडौं। नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह र सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान गरेको छ।
१८ वर्ष उमेर पूरा गरेका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले भदौ ३० देखि असोज २६ गते (१२ अक्टोबर २०२६) सम्म आवेदन दिन सक्नेछन्।
बैंकले महिला, युवा, गरिब तथा सीमान्तकृत समुदायका उद्यमीलाई आवेदन दिन विशेष प्रोत्साहन गरेको छ। छनोटमा परेका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति अनिवार्य रूपमा कायम राख्नुपर्नेछ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले प्रतिबद्ध उद्यमीको पहिचान गरी उनीहरूको क्षमता अभिवृद्धि गर्ने र समावेशी आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।
सन् २०२१ मा सुरु भएको नबिल एसएसईमार्फत हालसम्म १ हजार ५८० जनाले तालिम लिएका छन्। बैंकका अनुसार यसबाट ३१८ वटा उद्यम स्थापना भई १९ हजार ३०३ जनाले रोजगारी तथा जीविकोपार्जनका अवसर पाएका छन्। फेलोसिप कार्यक्रम ६ महिनाको हुनेछ भने सर्टिफिकेट कोर्स तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो। सर्टिफिकेट कोर्स देशभरका १० शैक्षिक साझेदार संस्थामार्फत सञ्चालन गरिने बैंकले जनाएको छ। कार्यक्रमसम्बन्धी थप जानकारी बैंकको वेबसाइट र आधिकारिक माध्यमबाट लिन सकिनेछ।
