काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।
अधिक तरलताको अवस्थामा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई सहज बनाउने उद्देश्यले केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग कम हुँदा तरलता व्यवस्थापनमा चुनौती देखिएको छ । तथ्यांकअनुसार भदौ २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले ८३ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने सोही अवधिमा ६० खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा बैंकहरूको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७१.४८ प्रतिशत कायम भएको छ । यसका कारण बैंकहरूसँग १३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।
यही अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निरन्तर निक्षेप संकलनको बोलकबोल गर्दै आएको छ । आज हुने निक्षेप संकलनका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिइसकेका छन् ।
