काठमाडौं। दैलेखको दुल्लु नगरपालिका-४ चाल्नेमुलका किसानहरू सुन्तला खेतीबाट आफ्नो जीवनमा आएको परिवर्तनले उत्साहित छन्। कुनै समय मकै, गहुँ र कोदोको भरमा गुजारा चलाउँदै आएका स्थानीय बासिन्दा अहिले व्यावसायिक सुन्तला खेतीबाट आत्मनिर्भर बनेका छन्।
६८ वर्षीया गोमा जैसीका अनुसार पहिले अन्नबालीले ६ महिना पनि खान नपुग्ने भएकाले मजदुरीका लागि भारत जानुपर्ने बाध्यता थियो। अहिले सुन्तला बिक्रीबाटै वार्षिक दुई लाख रुपियाँसम्म आम्दानी हुन थालेपछि त्यो अवस्था हटेको छ। स्थानीय निर्मला जैसीका अनुसार पहिले बोटबाट झरेर कुहिने सुन्तलाले अहिले राम्रो बजार पाएको छ।
व्यावसायिक खेती सुरु गरेपछि चामलको भात खान दसैं-तिहार कुर्नुपर्ने अवस्था नरहेको उनले बताइन्। किसान कृष्णकुमार कार्कीले २०७५ सालबाट व्यावसायिक खेती सुरु गरेका हुन्। उनले करिब ४०० बिरुवा रोपेका छन् र वार्षिक दुई लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन्। अर्का किसान किरण सार्कीले १५० बिरुवाबाट वार्षिक पाँच लाख रुपियाँ कमाउँछन्।
यहाँका किसानले सुन्तला प्रतिकिलो १०० रुपियाँसम्ममा घरबाटै बिक्री गर्ने गरेका छन्। दुल्लु क्षेत्र सुन्तलाका लागि उर्वर मानिन्छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको ‘सुन्तला जोन’ कार्यक्रमले किसानलाई बिरुवा, सिँचाइ र प्रविधिमा सहयोग गरिरहेको छ। परियोजनाकी कौशिला थापाका अनुसार हाल दुल्लुमा ६८९ हेक्टरमा सुन्तला खेती भइरहेको छ र यसलाई थप विस्तार गर्ने योजना छ।
गत वर्ष सुन्तला जोन क्षेत्रमा सात हजार ५८० टन उत्पादन भएको थियो। यसका साथै सेवक नेपाल संस्थाले पनि किसानको उत्पादनलाई बजारसम्म पुर्याउन र बजारीकरणमा सहयोग गर्दै आएको छ। संस्थाका कार्यकारी निर्देशक महारुप खत्रीका अनुसार किसानलाई खेती प्रविधि, ग्रेडिङ र प्याकेजिङसम्बन्धी तालिम दिइएको छ। नेपाल सरकार, युरोपेली संघ र संयुक्त राष्ट्र संघको संयुक्त पहलमा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रममार्फत यो सहयोग भइरहेको छ।
