काठमाडौं। श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयहरूले आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म २ करोड ८३ लाख ५८ हजार २०२ रुपैयाँ बराबरको पारिश्रमिक भुक्तानी गराएका छन्। विभागका अनुसार भदौ महिनामा मात्रै उजुरी, मेलमिलाप र विभागीय निर्देशनमार्फत १ करोड ४३ लाख १२ हजार ३८७ रुपैयाँ ५० पैसा रोकिएको पारिश्रमिक श्रमिकले प्राप्त गरेका छन्।
यस अवधिमा श्रमिक र प्रतिष्ठानबीचको आपसी सहमतिबाट ५५ लाख ५७ हजार ७३५ रुपैयाँ भुक्तानी फर्छ्यौट भएको छ। समीक्षा अवधिमा १४८ वटा व्यक्तिगत र ३ वटा सामूहिक गरी कुल १५१ वटा दाबी उजुरी दर्ता भएका छन् भने ६३ वटा श्रम विवाद समाधान गरिएको विभागले जनाएको छ।
श्रम कानुनको कार्यान्वयन सुनिश्चित गर्न भदौ महिनामा २४८ वटा प्रतिष्ठानको श्रम निरीक्षण र २४४ वटा प्रतिष्ठानमा बालश्रम निरीक्षण गरिएको छ। भदौ मसान्तसम्म कुल ६१९ वटा प्रतिष्ठान निरीक्षण र ५९५ वटा बालश्रम निरीक्षण सम्पन्न भएका छन्। साथै, यस अवधिमा ३८६ वटा श्रम अडिट प्रतिवेदन प्राप्त भएका छन्।
विभागका अनुसार भदौ महिनामा ३ वटा नयाँ ट्रेड युनियन दर्ता भएका छन् भने १८ वटाको नवीकरण गरिएको छ। श्रमिक आपूर्तिकर्ता कम्पनीतर्फ ५ वटा नयाँ इजाजत पत्र प्रदान गरिएको र ४७ वटा नवीकरण गरिएको छ। सोही महिनामा १ वटा औद्योगिक दुर्घटना दर्ता भएको छ। विभागले सेवाग्राहीलाई पहिलो आउनेलाई पहिलो सेवाको आधारमा सेवा प्रदान गरिरहेको जनाएको छ।
