काठमाडौं। गोरखाका ११ वटा स्थानीय तहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनः स्थापनाका लागि ३ करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
जिल्लाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।
गोरखा नगरपालिकाले सबैभन्दा बढी ५० लाख रुपैयाँ सङ्कलन गरेको छ। नगरपालिकाका अनुसार जनप्रतिनिधिबाट ५ लाख, शिक्षक तथा कर्मचारीबाट ३१ लाख ४० हजार ५८९, करारका कर्मचारीबाट ११ लाख ३२ हजार ८९० र नगरपालिकाको कोषबाट २ लाख २६ हजार ५२१ रुपैयाँ जुटाइएको हो।
त्यसैगरी, पालुङटार नगरपालिकाले ३९ लाख रुपैयाँ, भीमसेनथापा गाउँपालिकाले ३५ लाख रुपैयाँ र सिरानचोक गाउँपालिकाले ३३ लाख ५० हजार रुपैयाँ सङ्कलन गरेका छन्।
सहिद लखन गाउँपालिकाले ३० लाख ७५ हजार, बारपाक सुलिकोटले २८ लाख ५९ हजार, अजिरकोटले २७ लाख ६६ हजार, गण्डकी गाउँपालिकाले २० लाख, धार्चेले १५ लाख, चुमनुब्रीले १२ लाख २० हजार र आरुघाट गाउँपालिकाले ११ लाख ३३ हजार रुपैयाँ राहत स्वरूप सङ्कलन गरेका छन्।
बाढीका कारण गोरखाका गण्डकी र सहिद लखन गाउँपालिकामा ठूलो जनधनको क्षति भएको छ। त्रिशूली नदी तटमा रहेका संरचना, पुल र सडकमा क्षति पुगेको छ।
नुवाकोटको भैंसेमा भएको बाढीमा परी पालुङटारबाट छुटेको बससहित ३१ जना बेपत्ता छन्। रसुवामा काम गर्न गएका गोरखाका बासिन्दाहरूसँग पनि सम्पर्क हुन सकेको छैन।
