काठमाडौं। नेपालले भदौ महिनामा भारत र बङ्गलादेशतर्फ ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यस अवधिमा कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात भएको हो।
प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरेको जनाएको छ। द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीमा बिक्री भएको छ।
त्यस्तै, एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यातबाट १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ।
यसैबीच, भोटेकोशी नदीमा आएको बाढीले चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुर्याएपछि हाल बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ।
प्राधिकरणका अनुसार अन्य आयोजनाबाट बङ्गलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिएको छ।
