काठमाडौं। विश्वको आठौँ अग्लो हिमाल मनास्लु आरोहणबाट यस सिजनमा २१ करोड ८८ लाख ४३ हजार रुपियाँ राजस्व संकलन भएको छ।
पर्यटन विभागका अनुसार यस सिजनमा मनास्लु आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या र संकलित राजस्व दुवै हालसम्मकै उच्च हो।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१, सामागाउँमा अवस्थित ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष विभिन्न देशका ४८० जना आरोहीले अनुमति लिएका छन्।
विभागका निर्देशक सुरज घिमिरेका अनुसार ४० वटा समूहमा विभाजित यी आरोहीहरूमा ३५४ पुरुष र १२६ महिला सहभागी छन्। आरोहीहरूले मंगलबारदेखि आधार शिविरबाट आफ्नो यात्रा सुरु गरेका छन्।
मनास्लु संरक्षण क्षेत्र (एमक्याप) गोरखाका सूचना अधिकारी भुवन ओझाका अनुसार पछिल्ला वर्षहरूमा विदेशी आरोहीहरूमाझ मनास्लु हिमालको आकर्षण निरन्तर बढ्दो छ। सन् १९५६ मे ९ मा पहिलो पटक सफल आरोहण गरिएको यो हिमाल आफ्नो प्राकृतिक सौन्दर्य र चुनौतीपूर्ण मार्गका कारण अन्तर्राष्ट्रिय पर्वतारोहणको महत्त्वपूर्ण गन्तव्य बनेको छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले आरोहीहरूको बढ्दो संख्याले आधार शिविर र आसपासका क्षेत्रमा पर्यटन गतिविधि चलायमान बनाएको बताए। यसका साथै मनास्लु क्षेत्रमा हुने पदयात्राले स्थानीय स्तरमा रोजगारी र आम्दानीका अवसरहरू सिर्जना गरेको छ।
सामागाउँका होटल व्यवसायी फुञ्जो लामाका अनुसार यस क्षेत्रमा आउने पर्यटकका कारण होटल, होमस्टे, गाइड र भरियाहरूले लाभ लिइरहेका छन्। यस सिजनको कीर्तिमानी राजस्व र आरोही सहभागिताले मनास्लु हिमाल नेपालको पर्वतीय पर्यटनको बलियो आधार बन्दै गएको पुष्टि गरेको छ।
