बर्दिया। देशभर छाडा पशु चौपायाको व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको अवस्थामा बर्दियाको ठाकुरबाबा नगरपालिकाले यसलाई अवसरमा परिणत गर्ने प्रयास थालेको छ।
नगरपालिकाले छाडा पशुलाई व्यवस्थित गर्दै प्राङ्गारिक मल उत्पादन गर्ने योजना अघि सारेको छ।
किसानले लगाएको अन्नबाली छाडा पशुले खाएर नष्ट गरेपछि नगरपालिकाले गौशाला निर्माण गरी व्यवस्थापन सुरु गरेको हो। कोइकाको साझेदारीमा सञ्चालित यस योजनाले पशु व्यवस्थापनसँगै मलको अभावलाई पनि सम्बोधन गर्ने लक्ष्य राखेको छ। नगरपालिकाले वडा नम्बर ५ को बनकट्टीमा ४ सय र वडा नम्बर ४ को खैलारमा ३ सय गरी कुल ७ सय पशुलाई गौशालामा राखेको छ।
नगरप्रमुख तिलकराम लम्सालका अनुसार नगरपालिकाका चार स्थानमा ८ सय गाई संरक्षण गरिएको छ र यसका लागि वार्षिक करिब ६० लाख रुपैयाँ खर्च हुने गरेको छ। गौशाला व्यवस्थापनका लागि कार्यविधि निर्माण गरिएको छ भने जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था र कोइकाको सहकार्यमा उत्पादन कार्य अघि बढाइएको छ।
स्थानीय किसान अनिल थारूले गौशाला निर्माणपछि आफ्नो बाली सुरक्षित भएको र आवश्यकता पर्दा गोबर मल खरिद गर्न सहज भएको बताउनुभयो। उपप्रमुख बिना भट्टराईले राष्ट्रिय जनावरको संरक्षण गर्दै किसानलाई प्राङ्गारिक मल उपलब्ध गराएर आम्दानीसँग जोड्ने उद्देश्य राखिएको जानकारी दिए।
