काठमाडौं। कतारमा रहेका नेपाली मुस्लिम समुदायले बाढी र पहिरोबाट प्रभावितहरूका लागि ४१ लाख रुपैयाँभन्दा बढी राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्।
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अनुसार ‘नेपाल बाढीपीडित राहत अभियान’ मार्फत कुल ४१ लाख ७ हजार ७२१ रुपैयाँ संकलन गरिएको हो।
रसुवागढी तथा आसपासका भोटेकोसी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले यो रकम जुटाइएको हो। समाजको पहलमा विभिन्न नेपाली मुस्लिम संघ-संस्थाहरूको सहकार्यमा उक्त रकम संकलन गरिएको थियो।
यस अभियानमा नेपाली मुस्लिम शान्ति समाज, फख्र मिल्लत फाउन्डेसन, नेपाल इस्लामिक ग्रुप, नेपाली मुस्लिम फाउन्डेसन धनुषा, रमौल मुस्लिम सेवा समाज, महोत्तरी मुस्लिम कमिटी संघ, नेपाली मुस्लिम परिषद्, मन्सुरी एकता मञ्च र नेपाल मुस्लिम एकता समाजलगायतका संस्थाहरू सहभागी थिए।
समाजका अध्यक्ष अजमत अलीले राहत अभियानलाई निरन्तरता दिँदै कतारमा रहेका नेपाली मुस्लिम संघ-संस्थाहरूलाई समेटेर दीर्घकालीन सामाजिक परियोजना सञ्चालन गर्ने योजना रहेको बताए।
उनले कम्तीमा १ करोड रुपैयाँको सामुदायिक कोष निर्माण गरी ‘चेन कमान परियोजना’ अघि बढाउने प्रस्ताव गरेका छन्। यस परियोजनामार्फत कृषि, प्रशोधन, उत्पादन तथा बजारीकरणका माध्यमबाट दिगो आर्थिक प्रणाली निर्माण गरी विपन्न समुदायका विद्यार्थीको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने लक्ष्य राखिएको छ।
