मुस्ताङ। नेपाल–चीन उत्तरी कोरला नाकाबाट भेडाच्याङ्ग्रा भित्रिन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएका हुन् ।
गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् ।
पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केसीका अनुसार भदौ ३१ गतेदेखि लगातार तीन दिनसम्म कोरला नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट चार लटमा ४१९ वटा भेडाच्याङ्ग्रा नेपाल भित्रिएका हुन् ।
डा केसीका अनुसार भदौ ३१ गते १५५ वटा च्याङ्ग्रा, असोज १ गते ११८ वटा च्याङ्ग्रा र ४६ वटा भेडा तथा असोज २ गते १०० वटा च्याङ्ग्रा कोरला नाकाबाट नेपाल भित्रिएका हुन् । तिब्बतबाट खरिद गरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यापारीले पशुपालन प्रयोजनार्थ भेडाच्याङ्ग्रा ल्याएका हुन् ।
क्वारेन्टाइन ऐनअनुसार कुनै एक देशबाट नेपालमा पशु खरिद गरी ल्याउन चाहेमा सम्बन्धित चेकपोस्ट वा क्वारेन्टाइन कार्यालयमा पशुको निरोगिताको स्वास्थ्य प्रमाणपत्र तथा खोप लगाएको विवरण सात दिनअगावै पूर्वजानकारी गराउनुपर्ने प्रावधान छ । सोही नियमअनुसार लोमान्थाङका जनप्रतिनिधि तथा स्थानीय व्यापारीले तिब्बतबाट भेडाच्याङ्ग्रा ल्याएका हुन् ।
कोरला नाकाबाट पूर्वजानकारी गरी ल्याइएका भेडाच्याङ्ग्रालाई पशु स्वास्थ्य निरोगिताको प्रमाणपत्र तथा खोप विवरणका आधारमा पशु चेकपोस्टले स्वीकृति दिएको हो । सीमावर्ती व्यापारीले निरोगिताको प्रमाणपत्र पेस गरे पनि खोप विवरण उल्लेख नभएकाले लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल भित्रिएका भेडाच्याङ्ग्रालाई खोप लगाइएको डा केसीले बताए ।
चीनबाट नेपाल भित्रिएका भेडाच्याङ्ग्रा अहिले लोमान्थाङस्थित न्याम्डो र छोसेर चरन क्षेत्रमा स्थानीय भेडाच्याङ्ग्रा बथानसँग नमिसाउने गरी छुट्टै व्यवस्थापन गरिएको छ । अन्य मुलुकबाट नेपाल भित्रिएका पशुचौपायालाई क्वारेन्टाइन ऐनअनुसार सात दिनसम्म छुट्टै राख्नुपर्ने व्यवस्था रहेको छ । त्यसको अनुगमन क्वारेन्टाइन चेकपोस्टका पशु प्राविधिक र प्रहरी निकायले गर्नेछन् ।
दसैँ–तिहारजस्ता चाडपर्वमा हिमाली भेडाच्याङ्ग्राको माग बढ्ने गर्छ । मुस्ताङ, डोल्पा, मुगु र जुम्लाबाट भेडाच्याङ्ग्रा बजारमा पुर्याइने गरिन्छ । मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका स्थानीयले व्यावसायिक रूपमा च्याङ्ग्रापालन गर्दै आएका छन् ।
यस वर्ष कोरला नाकाबाट वैधानिक रूपमा तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेपछि च्याङ्ग्राको मूल्य केही कम हुने अपेक्षा गरिएको छ ।
यसैगरी, नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलोपटक १० कन्टेनर भेडाको ऊन पनि नेपाल भित्रिएको पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा गणेश केसीले जानकारी दिए ।
