धनकुटा। स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले सडक किनारका खाली जग्गामा बेसार खेती थालेको छ।
बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने लक्ष्यअनुरुप कोशी राजमार्गअन्तर्गत नगरपालिकाको सरस्वती चोक–सल्लेरी खण्डमा बेसार खेती गरिएको छ।
नगरभित्रका विभिन्न भित्री सडक किनारमा पनि बेसार रोपिएको नगरपालिकाको वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए। हालसम्म सात रोपनीमा बेसार खेती गरिएको उनले बताए।
बाँदर आतङ्कबाट किसान प्रभावित किसान पनि बेसार खेतीतर्फ नै आकर्षित भएका छन्। बेसार खेतीका लागि नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकिलो रु १०० का दरले १०० किलो बेसारको बीउ खरिद गरेको थियो।
उत्पादन भएको बेसारको बीउ खेती विस्तार गर्न चाहने किसान, कृषक समूह तथा सामुदायिक वन समूहलाई वितरण गरिने उनले जानकारी दिए।
