काठमाडौं। हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी भेगमा स्याउ पाक्न अझै केही समय लाग्ने भएको छ। समुद्री सतहबाट दुई हजार ९४५ मिटरको उचाइमा रहेको यस क्षेत्रमा स्याउ पाक्न ढिलाइ भएको हो।
कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तका अनुसार माथिल्लो हुम्लाको स्याउ असोजको दोस्रो हप्तापछि मात्रै टिप्न योग्य हुनेछ। बोटमा स्याउ लटरम्म फले पनि नपाकेका कारण किसानलाई धैर्य गर्न उनले आग्रह गरेको छ। विशेषगरी सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा हुने स्याउ उत्पादन असोजको दोस्रो हप्तापछि मात्रै बजार पठाउन सकिनेछ।
यस वर्ष स्याउ निकासीका लागि नयाँ नियम लागू गरिएको छ। अब किसान तथा व्यापारीले स्याउ निकासी गर्दा सम्बन्धित गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य रूपमा लिनुपर्नेछ। सिफारिसबिना निकासी गर्न लागिएका स्याउलाई बाजुराको सीमा कवाडी र मुगुको सीमा देउलीमा रहेको प्रहरी चौकीले रोक्ने निर्णय भएको छ।
