पोखरा। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि तमु धीं नेपालले सञ्चालन गरेको राहत अभियानमा रु ७० लाख ४७ हजार सङ्कलन भएको छ।
गत भदौ १४ गतेदेखि सुरु गरिएको उक्त अभियानमा संस्थाको कार्यसमिति, विभिन्न तमु समाज, सङ्घसंस्था र व्यक्तिहरूले सहयोग गरेको अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए। सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ।
यसैबीच, सप्तरीस्थित छिन्नमस्ता मन्दिरले पनि बाढीपीडितको सहयोगका लागि रु एक लाख ५१ हजार प्रदान गरेको छ। मन्दिरका पीठाधीश महाकान्त ठाकुरले उक्त रकमको चेक आइतबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई हस्तान्तरण गरेका छन्।
मन्त्री यादवले विपद्को समयमा मन्दिर समितिले देखाएको सहयोगप्रति आभार व्यक्त गर्दै सो रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने बताएका छन्। बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो जनधनको क्षति पुर्याएको छ।
