काठमाडौं। यातायात व्यवस्था विभागले दसैँअगावै सार्वजनिक सवारीसाधनमा प्रविधिमैत्री जीपीएस प्रणाली लागू गर्ने तयारी गरेको छ। विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वलाई लक्षित गरी आयोजना गरिएको छलफलमा सो जानकारी दिएका हुन्। हाल उक्त प्रणालीको गुणस्तर, मूल्य र प्राविधिक समायोजनका विषयमा अध्ययन भइरहेको छ। मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको र दसैँअघि नै आवश्यक सूचना जारी गरिने उनले बताए।
विभागले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गर्ने जनाएको छ। महानिर्देशक पोखरेलले भने, ‘चाडपर्वको समयमा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे समस्या सहज हुन्छ, मूल्य बढेको अवस्थामा सकेसम्म स्थिरता कायम गर्नुपर्छ।’
यात्रुको सुरक्षा र सुविधालाई ध्यानमा राख्दै सार्वजनिक सवारीसाधनको भेहिकल फिटनेस टेस्ट सर्टिफिकेट (भीएफटीसी) अनिवार्य रूपमा जाँच गरिने भएको छ। सवारीसाधनको वास्तविक अवस्था परीक्षण नगरी फिटनेससम्बन्धी कागजात दिने परिपाटी अन्त्य गरिने विभागले जनाएको छ।
अग्रिम टिकट बुकिङका सम्बन्धमा भने विभागले तत्काल निर्णय नलिने भएको छ। आगामी चार-पाँच दिनको मनसुनको अवस्था हेरेर मात्र अग्रिम टिकट बुकिङबारे निर्णय लिइने पोखरेलले जानकारी दिए। साथै, बाढीपहिरोका कारण अवरुद्ध राजमार्गलाई सञ्चालनयोग्य बनाउन भौतिक पूर्वाधार मन्त्रालयमार्फत सडक विभागलाई निर्देशन दिने प्रक्रिया अघि बढाइएको छ। यातायात क्षेत्रका मजदुरका लागि सामाजिक सुरक्षालाई अनिवार्य गर्ने विषयमा पनि कानुनी प्रक्रिया सुरु भएको विभागले जनाएको छ।
