हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिका-५ चैनपुर र मनहरी गाउँपालिका-६ सुनाचुरीमा निर्माणाधीन दुई मोबाइल टावर दसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
कैलाश गाउँपालिकाको कानडाँडामा निर्माण भइरहेका थप दुई टावर पनि सञ्चालनको अन्तिम चरणमा पुगेका छन्।
सांसद प्रशान्त उप्रेतीका अनुसार मनहरी गाउँपालिकाका दुई स्थान, इन्द्रसरोवर गाउँपालिकाको एक र कैलाश गाउँपालिकाको डाँडाखर्क, नामटार तथा भार्तामा नयाँ टावर निर्माण भइरहेका छन्।
यसबाहेक थाहा नगरपालिकाको चनवनमा पनि टावर निर्माण कार्य जारी छ। आवश्यकता अनुसार अन्य क्षेत्रका पुराना टावरको स्तरोन्नति प्रक्रिया पनि अगाडि बढाइएको छ।
गत भदौ ३० गते बसेको प्रतिनिधिसभा बैठकमा सांसद उप्रेतीले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा कमजोर मोबाइल नेटवर्कका कारण नागरिकले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसलगत्तै सूचना तथा सञ्चार मन्त्रालयले चासो देखाउँदै निर्माण कार्यलाई तीव्रता दिएको हो।
सांसद उप्रेतीले भने, ‘मकवानपुरका दुर्गम बस्तीका नागरिकले अझै पनि मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ।
अब परिणाम नागरिकले अनुभूति गर्नेगरी काम सम्पन्न हुनु आवश्यक छ।’ उनले निर्माणाधीन टावरहरू निर्धारित समयमै सञ्चालनमा ल्याई सर्वसाधारणलाई भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
