काठमाडौं। रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वान राइड’ कार्यक्रममा देशभरबाट १५ सयभन्दा बढी राइडर सहभागी भएका छन्।
नेपालका विभिन्न स्थानमा आज एकैसाथ आयोजित उक्त कार्यक्रममा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडरको सहभागिता रहेको थियो।
काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भई गोदावरीको बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो। देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट राइडरहरू यस कार्यक्रममा सहभागी भएका हुन्।
कम्पनीका अनुसार यस राइडको मुख्य उद्देश्य विभिन्न स्थानमा रहेका राइडरहरूलाई एउटै प्लेटफर्ममा जोड्ने, अनुभव आदानप्रदान गर्ने तथा सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्नु रहेको छ।
राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले डाउन सिन्ड्रोम एसोसिएसन नेपालका प्रेसिडेन्ट रमेश तामाङ, भाइस प्रेसिडेन्ट डा. प्रभा मैनाली र आरके सिंहलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण गर्दै निर्देशक पौडेलले राइडिङलाई केवल मोटरसाइकल यात्रामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। रोयल इन्फिल्ड नेपालले राइडिङलाई अन्वेषण, अनुभव र समुदायसँग जोडिने माध्यमका रूपमा लिने गरेको जनाएको छ।
