काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वका समयमा सार्वजनिक यातायातलाई सहज र सुरक्षित बनाउन अनलाइन टिकट बुकिङलाई प्राथमिकता दिने निर्णय गरेको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारी गर्दै देशभर जारी भारी वर्षा र बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउन निर्देशन दिएका छन्।
महासङ्घले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र ल्होत्से बहुउद्देश्यीय प्रालिलगायतका सरोकारवाला निकायसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ। यात्रुको सुरक्षाका लागि परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारीसाधन सञ्चालन गर्न र टिकट काउन्टरमा कर्मचारीको अनिवार्य परिचयपत्रको व्यवस्था गर्न निर्देशन दिइएको छ। साथै, अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न र यात्रुले आधिकारिक काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न महासङ्घले जोड दिएको छ।
सडक सुरक्षाका लागि महासङ्घले राजमार्गको निरन्तर निरीक्षण, मर्मतसम्भार र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई आग्रह गरेको छ। लामो दूरीका सवारीसाधनमा चालकको स्वास्थ्य जाँच अनिवार्य गरिएको छ भने लामो बाटोमा कम्तीमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ। साथै, १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई चालक वा अन्य काममा नलगाउन पनि निर्देशन दिइएको छ।
यातायात व्यवसायीले चाडपर्वका बेला सवारीसाधनको चाप र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रभावकारी निगरानी गर्ने जनाएका छन्। अग्रिम टिकट बुकिङ खुला गर्ने मिति र समयबारे मौसम तथा सडकको अवस्थालाई विश्लेषण गरेर पछि सूचना जारी गरिने महासङ्घले जनाएको छ।
