वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज बनाउने उद्देश्यले अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर सङ्कलन गर्ने व्यवस्था लागू गरेको छ।
आगामी २०८३ असोज १२ गतेदेखि महानगरका सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर सङ्कलन गरिने भएको छ।
यसअघि कर तिर्न महानगरपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता रहेकोमा अब सेवाग्राहीले आफ्नै वडा कार्यालयबाट सेवा प्राप्त गर्न सक्नेछन्। नगरवासीलाई घरदैलो नजिकैबाट सरल र प्रभावकारी सेवा उपलब्ध गराउने महानगरको नीतिअनुरूप यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
महानगर प्रमुख राजेशमान सिंहले नगरवासीलाई सेवा लिन अनावश्यक झन्झट नहोस् र समय तथा खर्चको बचत होस् भन्ने उद्देश्यले वडा तहबाटै कर सङ्कलनको व्यवस्था गरिएको बताए। महानगरपालिकाले प्रवाह गर्ने सेवाहरूलाई नागरिकको घरदैलो नजिक पुर्याउन आफूहरू निरन्तर लागिपरेको उनको भनाइ छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले वडा कार्यालयहरूलाई कर सङ्कलनका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन्। साथै, महानगरपालिकाले एक सूचना जारी गर्दै नगरवासीलाई आफ्नो सम्बन्धित वडा कार्यालयमा गएर मालपोत कर बुझाउन आग्रह गरेको छ।
