हेटौँडा: मुलुकको एकमात्र ब्याकअप ऊर्जा स्रोत मानिने कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्ने क्रम जारी छ। आयोजनाका अनुसार पछिल्लो १२ घण्टाको अवधिमा जलाशयमा पानीको सतह १.२ मिटरले बढेको छ।
बिहीबारदेखि निरन्तर भइरहेको वर्षाका कारण जलाशयमा प्रतिघण्टा १० सेन्टिमिटरका दरले पानी थपिएको छ। आयोजना प्रमुख प्रह्लाद राउतका अनुसार शुक्रबार बिहान ६ बजे १ हजार ५२२.३१ मिटर रहेको जल सतह साँझ ७ बजेसम्म आइपुग्दा १ हजार ५२३.५१ मिटर पुगेको छ। जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेको छ। हाल पूर्ण क्षमतामा पुग्न करिब ६ मिटर मात्र बाँकी रहेको छ।
जलाधार क्षेत्रमा पानीको सतह बढ्दै गएपछि जलाशयको पानी खपत गर्न आयोजनाका तीन वटै युनिट २४ सै घण्टा सञ्चालन गरिएको छ। यसबाट दैनिक ४० देखि ५० सेन्टिमिटर पानी खपत हुने गरेको छ। हाल आयोजनाबाट कुल १०८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
प्रमुख राउतले जलाशयको सतह बढ्दै गए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए। १६६ वर्ग किलोमिटर जलाधार क्षेत्र रहेको कुलेखानीमा पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चरणको साइरन बज्ने व्यवस्था गरिएको छ। जलाशय १ हजार ५३० मिटरभन्दा बढी भरिएमा बाँधका ढोका खोल्नुपर्ने भएकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
