काठमाडौं: निरन्तरको वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार प्रतिकूल मौसमका कारण शुक्रबार फ्लाइ दुबईको दुबई-पोखरा-दुबई उडान रद्द गरिएको छ।
आन्तरिकतर्फ पनि दिनभर उडान हुन नसकेपछि साँझको समयमा बुद्ध एयरका तीनवटा उडान मात्र सञ्चालन हुन सकेका छन्। फ्लाइ दुबईले बुधबारदेखि पोखरा-दुबई दैनिक उडान सुरु गरेको थियो। कम्पनीको तालिकाअनुसार दैनिक साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे दुबई प्रस्थान गर्ने व्यवस्था छ।
यसअघि बिहीबार फ्लाइ दुबईको उडानमार्फत १२२ यात्रु पोखरा आएका थिए भने १४३ जना यात्रु पोखराबाट दुबई गएका थिए। कम्पनीले १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु गरेको हो।
