काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को बोर्ड अफ गभर्नर्सको ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार साँझ कतार प्रस्थान गरेका छन्।
उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार एयरवेजको उडानमार्फत साँझ ७ बजे दोहा गएका हुन्।
प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा भाग लिने छन्।
उक्त बैठकमा नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।
भ्रमण अवधिमा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसँग भेटवार्ता गर्नेछन्। साथै, भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग पनि द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ। वार्षिक बैठक र निर्धारित द्विपक्षीय संवाद सम्पन्न गरी नेपाली प्रतिनिधिमण्डल असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।
