रोल्पा। रोल्पा र प्यूठान जोड्ने होलेरी: स्वर्गद्वारी सडकखण्ड विभिन्न स्थानमा रुख ढलेपछि अवरुद्ध भएको छ।
निरन्तरको वर्षा र हावाहुरीका कारण सडकखण्डका विभिन्न भागमा रुख ढल्ने क्रम जारी रहेको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ।
सडक अवरुद्ध हुँदा होलेरीबाट स्वर्गद्वारी जाने र स्वर्गद्वारीबाट होलेरीतर्फ आउने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।
सडकमा खसेका रुख तथा अवरोध हटाउन जनशक्ति तयारी अवस्थामा राखिएको भए पनि प्रतिकूल मौसमका कारण तत्काल सफाइ कार्य गर्न जोखिम देखिएको छ। मौसममा सुधार आउनासाथ जनशक्ति परिचालन गरी सडक खुलाउने तयारी भइरहेको कार्यालयले जनाएको छ।
सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न सम्बन्धित निकायले सर्वसाधारणलाई अनुरोध गरेको छ।
यात्रा गर्नैपर्ने अवस्थामा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र निस्कन र वर्षा तथा हावाहुरीको समयमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
मौसम प्रतिकूल रहेकाले सडक आसपासका क्षेत्रमा थप रुख ढल्ने तथा पहिरोको जोखिम हुन सक्ने भन्दै यात्रुलाई सतर्क रहन सुचित गरिएको छ।
