काठमाडौं। लगातारको वर्षा र हावाहुरीका कारण दाङको देउखुरी क्षेत्रमा काट्ने तयारीमा रहेको धानबालीमा व्यापक क्षति पुगेको छ। बाली भित्र्याउने समयमा पानी परेपछि किसानहरू मर्कामा परेका छन्।
गढवा गाउँपालिका-५, चैनपुरका किसान वसन्त खड्काको चार कट्ठा खेतको धान वर्षाले ढलेर भिजेको छ। विगत चार दिनदेखि परिरहेको पानीका कारण खेतमा जम्मा भएको पानी निकास गर्न नसक्दा धानबाली नै नष्ट हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो। खड्का भन्नुहुन्छ, ‘समयमै गरेको खेती पाकेर घरमा भित्राउने समयमा पानी पर्दा धान खेतमै खेर जाला भन्ने डर भइसक्यो। यत्तिकैमा पानी रोकियो भने धान भित्राउन पाइन्छ कि भन्ने आश छ, पानी बढ्यो भने सवै धान खेतमै जाग्ला भन्ने डर छ।’
सोही स्थानका अर्का किसान विष्णु महराको १४ कट्ठा खेतको धान पनि हावाहुरी र पानीले ढलाएको छ। पानी नपरेको भए एक साताभित्रै बाली काट्ने तयारीमा रहेका महराले धान भिजेपछि दाना र पराल दुवै कुहिने डर बढेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पानी रोकिएन भने मेहनत खेर जानका साथै बर्षभरी खानका लागि समेत समस्या पर्ने अवस्था रहेको छ।’
गढवा गाउँपालिका-३, खैरेनीका किसान टेकराज रावतका अनुसार चैनपुर मात्र नभई देउखुरीका धेरै स्थानमा धानबालीमा क्षति पुगेको छ। वर्षा र हावाहुरीले पाक्न लागेको धानका साथै तरकारी बालीमा समेत असर गरेको छ।
