काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले वर्षा, बाढी, पहिरो र हावाहुरीका कारण विद्युत् आपूर्तिमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाएको छ। प्राधिकरणले देशभरको विद्युत् संरचनाको अवस्था र प्रभावित क्षेत्रको निरन्तर अनुगमन गरिरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सातै प्रदेशका प्रादेशिक कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरी विद्युत् संरचनामा पुगेको क्षति र आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन्। उनले प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा सुचारु गर्न र आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।
अवरुद्ध विद्युत् सेवालाई सम्भव भएसम्म वैकल्पिक लाइन वा फिडरमार्फत सञ्चालन गर्न र क्षतिग्रस्त संरचनाको सुरक्षित मर्मत कार्य तत्काल अघि बढाउन निर्देशन दिइएको छ। प्राधिकरणले विपद्को समयमा प्राविधिक कर्मचारीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मर्मत कार्य अघि बढाउन भनेको छ। देशभरको विद्युत् प्रणालीको अवस्थाबारे केन्द्रीय तहबाटै निरन्तर समन्वय र अनुगमन भइरहेको प्राधिकरणले जनाएको छ।
