चितवन। नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन्।
सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ः५५ बजे सो खोलामा लेदोसहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो १२ः१५ बजेको समयमा सडक सञ्चालनमा आएको हो। योसँगै पोखराबाट नारायणगढतर्फ आउने र नारायणगढबाट पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन्।
लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडक खण्डका विभिन्न ११ स्थानमा पहिरो झरी सडक अवरुद्ध भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सडक खण्डको शीलतबजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडक छेउ भासिएको छ। बेनिघाट बजार नजिकको गोमती खोलामा लेदोसहितको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ। कृष्णभीर माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।
सूचना अधिकारी मिश्रका अनुसार ज्यामिरेघाट चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा ठाउँ–ठाउँमा ढुङ्गासहितको साना पहिरो खसेको छ।
फिस्लिङ आसपासस्थित विभिन्न तीन स्थान गरी करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ भने ३० मिटर जति सडकको आधा भाग चर्किएको छ। चुम्लिङटारमा ढुङ्गासहितको पहिरो खसेको छ। धारापानीको दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको सूचना अधिकारी मिश्रले जानकारी दिए।
सोही स्थानमा ‘कल्भर्ट’ खुलाउने काम भइरहेको र घोप्टेभीर तथा सिमलधारामा ठूला ढुङ्गा र लेदोसहित आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ। इञ्जिनियर मिश्रका अनुसार सबै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ। अब ठूलो पहिरो नखसेमा साँझसम्म पन्छाएर सवारी सञ्चालनमा ल्याइने छ। सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरण पन्छाउने काममा प्रयोग भइरहेको उनले जानकारी दिए।
