काठमाडौं: अविरल वर्षासँगै आएको बाढी र पहिरोले कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक खण्डमा क्षति पुर्याउँदा कोरला नाकासँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ। अन्नपूर्ण गाउँपालिका-६ को पोखरेबगर र वडा नम्बर-२ को भुरुङ-तातोपानी जोड्ने सडक र पक्की पुल कालीगण्डकी नदीले कटान गरेपछि यातायात अवरुद्ध भएको हो।
सडक सञ्जालमा पुगेको क्षतिका कारण चीनको तिब्बततर्फबाट हुने आयात प्रभावित भएको छ। मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले चाडपर्वको मुखमै सडक अवरुद्ध हुँदा मालबाहक कन्टेनरहरू रोकिएको बताए। उनले भने, ”सडक र पक्की पुलको मर्मत नगरे इभीसहितका सामान भन्सारमै रोकिने अवस्था छ, बर्षा रोकिएपछि सरकारी निकायसँग सहकार्य गरेर खुलाउने प्रयास गर्छौँ।”
कालीगण्डकी करिडोर आयोजनाका प्रमुख तेजस्वी शर्माले सडक पूर्वाधारमा ठूलो क्षति पुगेको जानकारी दिए। उनले भने, ”कटानले सडक पूर्वाधारमा धेरै क्षती पुगेको छ, हामीले विवरण संकलन गरेपछि मर्मत सम्भव भएकालाई तत्काल सुरु गर्छौँ।” हाल नेचुङ भन्सार कार्यालयको अस्थायी यार्डमा विद्युतीय सवारीसाधन, घरायसी सामान र अन्य सामग्री बोकेका थुप्रै कन्टेनर रोकिएका छन्। भन्सारका सूचना अधिकारी अबिन्द्र सिंहले सडक सहज नहुँदासम्म जाँचपासको कार्य प्रभावित हुनसक्ने बताए।
चालु आर्थिक वर्षको साउनमा २६ करोड ३९ लाख रुपियाँ राजस्व संकलन भएकोमा भदौ महिनामा २ अर्ब ८१ करोड ५४ लाख रुपियाँ पुगेको थियो। ७६ किलोमिटर लामो बेनी-जोमसोम सडकखण्डको करिब २२ किलोमिटर क्षेत्र बाढीपहिरोको उच्च जोखिममा रहेको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले क्षतिको विवरण संकलन गरी सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए।
