काठमाडौं। दार्चुलाको अपी हिमाल गाउँपालिका-३ स्थित पाथा र कसौती गाउँका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन। व्यावसायिक र परम्परागत रूपमा स्याउखेती गर्दै आएका झण्डै ५० परिवारले उत्पादन गरेको स्याउ बिक्री नहुँदा थन्किएको छ। हिमालयन कृषि फार्मका सञ्चालक कपुर सिँह धामीका अनुसार कलमी, गाला र इटालीयन फुजी जातका स्याउ प्रशस्त फले पनि बजारको अभाव र ढुवानीको समस्याले किसान मर्कामा परेका छन्।
धामीले आफ्नो फार्ममा ५ सयभन्दा बढी बोटबाट १५ देखि २० क्विन्टल स्याउ उत्पादन गरेका छन्। उनले भने, ‘गाउँमा सबै परिवारले स्याउखेती गरेका छन्। एक सयभन्दा बढी बोटबिरुवा हुने १०-१२ परिवार छन्।
केहीले थोरै बिक्री गरे वा आफन्तलाई दिए, तर मेरो १० क्विन्टल जति स्याउ त्यत्तिकै छ।’ उनले गाउँमै प्रतिकिलो १ सय रुपैयाँका दरले करिब एक क्विन्टल स्याउ बिक्री गरे पनि बाँकी स्याउ बजारसम्म पुर्याउन कठिनाइ भएको बताए। सडक पहुँच नहुँदा गाडीसम्म स्याउ ढुवानी गर्नै एक दिन लाग्ने र बजारमा बिक्री हुने सुनिश्चितता नभएको उनको भनाइ छ।
कसौती गाउँका किसान जनक सिँह कार्कीले पनि स्याउ बिक्री गर्न समस्या भइरहेको बताए। पाथा गाउँमा तीन वर्षअघि घरेलु तथा साना उद्योग विकास कार्यालयले निर्माण गरेको चिस्यान केन्द्रमा अहिले धामीको १० क्विन्टलसहित अन्य किसानको गरी १५ देखि २० क्विन्टल स्याउ थन्किएको छ। विद्युत् आपूर्ति नियमित नहुँदा र लामो समयसम्म भण्डारण गर्दा स्याउ बिग्रिने चिन्ताले किसानहरू मारमा परेका छन्।
