काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो बैंकिङ प्रणालीलाई आधुनिकीकरण गर्न ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयन गर्ने भएको छ। यसका लागि कम्पनीले इन्फोडेभलपर्स प्रा.लि.सँग औपचारिक सम्झौता गरेको छ।
यस रणनीतिक साझेदारीको मुख्य उद्देश्य रिलायन्स फाइनान्सको डिजिटल बैंकिङ क्षमता र प्रविधिगत पूर्वाधारलाई थप मजबुत बनाउनु रहेको छ। इन्फोडेभलपर्सद्वारा विकसित ‘पुमोरी नेक्स्टजेन’ एक वेबमा आधारित र पूर्ण रूपमा एपीआई इन्टिग्रेटेड प्रणाली हो। यसको एपीआई-आधारित संरचनाले विभिन्न डिजिटल च्यानल, भुक्तानी प्रणाली र अन्य इन्टरप्राइज प्रणालीहरूसँग सहज एकीकरण गर्न मद्दत गर्नेछ।
सम्झौताअनुसार इन्फोडेभलपर्सले रिलायन्स फाइनान्सको कोर बैंकिङ पूर्वाधारलाई आधुनिकीकरण गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यस प्रणालीको प्रयोगले संस्थालाई भविष्यका डिजिटल नवप्रवर्तनका लागि तयार राख्नुका साथै आफ्ना ग्राहकलाई थप छिटो, सुरक्षित र ग्राहक-केन्द्रित वित्तीय सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स नेपालको अग्रणी फिन्टेक कम्पनी हो। कम्पनीले विगत दुई दशकभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्थाहरूका लागि मोबाइल बैंकिङ, एआई-आधारित प्रविधि, क्लाउड सेवा र कार्यालय स्वचालन उपकरणहरू उपलब्ध गराउँदै आएको छ।
