काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।
सभापति लामिछानेले आफ्नो पार्टीको केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरेको भन्दै शाहीले आभार व्यक्त गरेका हुन्।
शाहीले सामाजिक सञ्जालमार्फत लामिछानेलाई धन्यवाद दिँदै सरकार र कृषि मन्त्रालयको नेतृत्वमा रहेको रास्वपालाई जुम्ली किसानको समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन्। उनले जुम्लाको स्याउ अहिले बजारमा उपलब्ध भए पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको उल्लेख गरेका छन्।
शाहीले भनेका छन्, ‘जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु गरिदिनुभएकोमा पार्टी सभापति रवि लामिछानेज्यूलाई धेरै-धेरै धन्यवाद। तर सरकार तपाईँहरूको छ, कृषि मन्त्रालय र मन्त्री पनि तपाईँहरूकै छन्। जुम्लाको स्याउ अहिले बजारमा छ, तर किसानले उचित मूल्य पाएका छैनन्।’
उनले जुम्लाको स्याउ बजारमा उपलब्ध भएसम्म विदेशबाट आयात हुने स्याउमा रोक लगाउन सरकारसँग माग गरेका छन्। यस्तो कदमले जुम्ली किसानलाई ठूलो राहत पुग्ने र किसानले उक्त गुन कहिल्यै नबिर्सने शाहीले बताएका छन्।
