काठमाडौं। रसुवागढी र तातोपानी नाका बाढीका कारण बन्द भएपछि नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध मुस्ताङको कोरला नाकामा केन्द्रित भएको छ। पछिल्लो एक महिनादेखि उत्तरतर्फको व्यापारको मुख्य आधार बनेको कोरला नाकाको अवस्थाबारे बुझ्न नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहितको टोलीले शनिबार अनुगमन गरेको छ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार, चिनियाँ टोलीले नाकाको व्यवस्थापन र हालैको बाढीले अवरुद्ध पारेको कालीगण्डकी करिडोरको अवस्थाबारे चासो राखेको थियो। भन्सार प्रमुख विदुर चुडालले चिनियाँ टोली नाकालाई वर्षभरि चौबीसै घण्टा व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने सम्भावना र आवश्यक पूर्वाधारबारे केन्द्रित रहेको जानकारी दिए।
चुडालले भने, ‘चिनियाँ क्षेत्रमा कुनै समस्या छैन। जे जति पूर्वाधार आवश्यक पर्ने हो, ती सबै नेपालतिर मात्र छ। नेपालतिर अझैसम्म व्यवस्थित भइसकेको छैन। पूर्वाधार पनि पर्याप्त छैनन्।’
रसुवागढी र तातोपानी नाका बन्द भएपछि त्यहाँ रोकिएका कन्टेनरहरू कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको छ। यसअघि दैनिक ५० वटा कन्टेनरसम्म भित्रिने गरेको भए पनि पछिल्लो एक सातादेखि कालीगण्डकी करिडोर अवरुद्ध हुँदा आयात-निर्यात ठप्प छ। यद्यपि, सडक कार्यालयले करिडोर खुलाउने प्रयास भइरहेको जनाएको छ। चालू आर्थिक वर्षमा मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
