काठमाडौं। बडादशैँ नजिकिएसँगै बाँकेका मूर्तिकार तथा स्थानीय कलाकारहरूलाई दुर्गा माताको मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ। घटस्थापनादेखि नवदुर्गाभरि चोक र टोलमा मूर्ति स्थापना गर्ने परम्परा रहेकाले कलाकारहरू डेढ महिना अघिदेखि नै काममा जुटेका छन्। यस वर्ष बाँकेमा करिब २ सय ५० वटा दुर्गा मूर्ति स्थापना गरिने अनुमान गरिएको छ।
विगतमा छिमेकी मुलुक भारतबाट मूर्ति आयात हुने गरेकामा पछिल्ला वर्षहरूमा नेपालगन्जमै निर्माण हुन थालेपछि परनिर्भरता घटेको छ। नेपालगन्जको विद्युतरोडमा कार्यरत मूर्तिकार अंकित मिश्रले यस वर्ष ४० सेट दुर्गा मूर्ति निर्माण गरिरहनुभएको छ। वैशाख महिनादेखि नै तयारी थाल्नुभएका उहाँले एउटा सेट तयार गर्न १० देखि १५ दिन लाग्ने बताउनुभयो। उहाँका अनुसार मूर्तिहरूको माग सुर्खेत र दाङसम्म रहेको छ।
मूर्तिको मूल्य आकार र कलात्मक बनावटका आधारमा निर्धारण हुने गर्दछ र एउटा सामान्य सेटको मूल्य १५ हजार रूपैयाँभन्दा बढी पर्छ। मिश्र यो पेशालाई धार्मिक र सामाजिक सन्तुष्टिको माध्यम मान्नुहुन्छ। यद्यपि, मूर्ति निर्माण कार्य मौसमी प्रकृतिको भएकाले नियमित आम्दानीको सुनिश्चितता नहुँदा नयाँ पुस्तालाई यस पेशातर्फ आकर्षित गर्न चुनौतीपूर्ण देखिएको छ।
मूर्ति बनाउन आवश्यक माटो, बाँस र पराल जस्ता सामग्री स्थानीय स्तरमै उपलब्ध भए पनि अन्तिम सजावटका लागि भने अझै पनि भारतीय बजारमै भर पर्नुपर्ने बाध्यता रहेको कलाकारहरू बताउँछन्।
